एचपीभी खोप अभियानको आज अन्तिम दिन

काठमाडौं । फागुन ६, पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरसु (एचपीभी) खोप अभियानको आज अन्तिम दिन हो । गएको माघ २२ गतेदेखि १५ दिने अभियान शुरू भएको थियो ।
विशेषगरी किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अभियान सञ्चालन गरेको हो ।
एचपीभी खोप अभियानमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीलाई तोकिएका केन्द्रमार्फत खोप प्रदान गरिएको छ ।
अभियानका क्रममा झन्डै १७ लाख किशोरीलाई खोप दिने सरकारको लक्ष्य थियो । लक्ष्य अनुरूप किशोरीले खोप प्राप्त गर्ने गरी अभियान सफल भएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिनुभयो ।
नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण ज्यान जाने महिलाको सङ्ख्या उच्च छ । नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको मन्त्रालयको तथ्याङ्क छ ।
आउँदो वर्षदेखि सबै किशोरीले नियमित रूपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो ।