प्रधानमन्त्री ओलीले आफ्नो जन्म दिन फुटबल हेरेर मनाउने

काठमाडौँ । फागुन ११, प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो ७४औँ जन्मदिन मनाउँदै छन् । जन्मदिनको अवसरमा आज कुनै विशेष कार्यक्रम नराखिएको प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।
ओलीले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज जन्मदिन, यस पटक जन्मदिनको विशेष कार्यक्रम केही राखिएको छैन। आज दिउँसो २ बजे यसै अवसरमा ‘केपी ओली कप फुटबल च्याम्पियनसिप’ राखिएको रहेछ । खेल हेर्न एन्फा कम्प्लेक्स सातदोबाटो जाँदै छु, त्यहीँ भेटौँला, शुभकामना आदानप्रदान त्यहीँ गरौँला ।’
ओलीको जन्म बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा भएको थियो । २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।
ओली तत्कालीन नेकपा मालेको संस्थापक मध्येका एक हुन् । उनी २०७१ साल असार ३१ गते माधवकुमार नेपाललाई हराउँदै एमालेको अध्यक्ष बनेदेखि लगातार पार्टीको अध्यक्ष छन् । पछिल्लो पटक २०७८ मङ्सिरमा भएको दशौँ महाधिवेशनमा फेरि अध्यक्ष चुनिएका ओली नेपाली कांग्रेससँगको सहकार्यमा हाल चौथो पटक प्रधानमन्त्री रहेका छन् ।