‘लाज शरणम्’को सेन्सर पास, रिलिजका लागि बाटो खुल्यो

काठमाडौँ । फागुन १२, फिल्म ‘लाज शरणम्’को सेन्सर पास भएको छ । यो फिल्मलाई चलचित्र जाँचपास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । अब यो फिल्म सबै वर्गका दर्शकले हेर्न पाउनेछन् । यो फिल्मको कुल समय अवधि २ घन्टा ४० मिनेट ५२ सेकेन्ड तय भएको छ । केही दृश्यहरुलाई सच्याउँदै फिल्मलाई ‘यूनिभर्सल’ सर्टिफिकेट दिइएको हो ।
फिल्म अब फागुनको १४ गतेबाट रिलिजमा आउने भएको छ । जेपिटी क्रियशनको व्यानरमा बनेको यो फिल्ममा कलाकार सीताराम कट्टेलले निर्वाह गरेको भूमिकासँग आफ्नो गेटअप मिलेको भन्दै पूर्वमन्त्री अफ्ताव आलमले मुद्दा दायर गरेका थिए । उनको मुद्दापछि अदालतले सेन्सर अघि फिल्मको प्रचारप्रसारमा रोक लगाएको थियो ।
कुमार कट्टेलको निर्देशनमा तयार भएको यो फिल्मको रिलिजका लागि अब बाटो खुलेको छ । फिल्ममा सिरियल ‘सक्किगोनी’का अधिकांश कलाकारहरुको मुख्य भूमिका छ । साथै, फिल्ममा सीताराम कट्टेल, विजय बराल, महेश त्रिपाठी, माला लिम्बु लगायतका कलाकारहरुको पनि अभिनय छ ।