जसपा नेपालको केन्द्रीय समिति बैठक आजबाट सुरु

काठमाडौँ । फागुन १८, जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै छ । ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजेबाट बैठक सुरु हुने छ ।
तीन दिनसम्म चल्ने बैठकमा गत भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभिायान’ को समीक्षा हुने छ ।
बैठकमा अभियानमा परिचालित नेताहरुले कार्यप्रगति विवरण प्रस्तुत गर्ने छन् । त्यसपछि आगामी कार्यक्रम तय गरिने जसपा नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे पनि छलफल हुने बताइएको छ । खासगरी सरकारले ल्याएका ६ अध्यादेशबारे छलफल गर्ने तयारी छ ।
जसपा नेपालले भूमि अध्यादेश फिर्ता नलिए अरु अध्यादेश पनि संसदबाट पास नगर्ने जनाएको छ । यसबाट प्रधानमन्त्री केपी शर्मा ओली समस्यामा परेका छन् । त्यसैले आज एमालेले पनि सचिवालय बैठक बोलाएको छ ।