कांग्रेस सभापति, पदाधिकारीसहित अधिकांश केन्द्रीय सदस्यहरू रुपन्देहीमा

रुपन्देही । फागुन १९, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू आज रुपन्देहीमा आउने भएका छन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आज र भोलि भैरहवामा हुने प्रशिक्षणमा देउवासहितका नेताहरू आउने भएका हुन् ।
कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, दुई महामन्त्री, पूर्वमहामन्त्री, नेताहरू कृष्ण सिटौला, विमलेन्द्र निधि, बालकृष्ण खाँण, रमेश लेखक, आरजु देउवा लगायत नेताहरू सहभागी हुने कांग्रेस रुपन्देही १ का क्षेत्रीय सभापति हिरा खत्रीले बताए । यो कार्यक्रममा देशभरका क्षेत्रीय सभापतिहरू सहभागी हुनेछन् । संघीय र प्रदेश सभा निर्वाचन क्षेत्रका सभापति र प्रशिक्षण शाखा प्रमुखसमेत गरी ३३० जना सहभागी हुन रुपन्देही आइसकेका छन् ।
१६५ संघीय निर्वाचन क्षेत्रमध्ये १३० निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापति र प्रशिक्षण शाखा प्रमुख गरी २६० जना र एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाका ७० वटा प्रदेश सभा निर्वाचन क्षेत्रबाट ७० जना क्षेत्रीय सभापति गरी ३३० जनालाई प्रशिक्षण दिइने जानकारी नेता खबीले जानकारी दिए ।यसको तयारीका लागि केही नेताहरू आइतबारदेखि नै रुपन्देहीमा आइसकेका छन् ।