सप्तरीको फत्तेपुरमा बाघको आक्रमण

काठमाडौँ । फागुन १९, सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर १ फत्तेपुरमा बिहानै ६ बजे देखि देखिएको बाघ समात्न नसकेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
बिहान ६ बजेतिरै बाघ बस्तीमा पसेको स्थानीयको भनाई छ । बाघको आक्रमणबाट फत्तेपुरका रिझन गोसाईं, गणेश खत्री र कृष्ण विष्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
गोसाईं र खत्री स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर घर फर्किएका छन् भने विष्टलाई थप उपचारका लागि धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको प्रहरीले जनाएको छ ।
बाघ बस्तीका घर र गोठहरूमा घुमिरहेको छ । बाघ समात्न कोशी संरक्षण केन्द्र र कोशीटप्पु वन्यजन्तु आरक्षको प्राविधिक टोली खटिएको भए पनि समात्न सकेको छैन ।