गोंगबुका सबै बसको काउन्टरबाट अनलाइन टिकट काट्न सुरु

काठमाडौँ । फागुन १९, देशभरिका सार्वजनिक सवारीसाधन आवतजावत गर्ने गोंगबुस्थित नयाँबसपार्कका सबै टिकट काउन्टरबाट अनलाइन प्रणालीमा बसको टिकट काट्न सुरु गरिएको छ ।
मुलुकको एक मात्र राष्ट्रिय बसपार्क नयाँबसपार्कलाई प्रविधिमैत्री बनाउँदै यात्रुलाई सहज ढङ्गले सेवा प्रदान गर्नका लागि बसपार्कभित्रका ४७ वटै टिकट काउन्टरबाट अनलाइन प्रणालीबाट टिकट काट्न सुरु गरिएको हो ।
काठमाडौं महानगरपालिकासँग सम्झौता गरेर लोत्से बहुउद्देश्यीय प्रालिले सञ्चालन गरेको नयाँबसपार्कमा यातायात व्यवसायीको सहकार्यमा बसपार्कका टिकट काउन्टरलाई अनलाइन प्रणालीमा लगिएको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले जानकारी दिए ।
काठमाडौं महानगरपालिका–२६ गोंगबुमा सञ्चालित उक्त बसपार्कबाट हाल देशभरका ७० जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत आवतजावत गर्दै आएका छन् । यसबाहेक सिन्धुपाल्चोक, ओखलढुङ्गा, दोलखा, रामेछाप, खोटाङलगायत जिल्लामा भने कोटेश्वरबाट सवारीसाधन आवतजावत गर्दै आएका छन् ।
नयाँबसपार्कबाहेक हाल राजधानीको कलङ्की, पुरानो बसपार्क, गौशाला, कोटेश्वर र सोह्रखुट्टेबाट सवारीसाधन विभिन्न जिल्लामा आवतजावत गर्दै आएका छन् ।
काठमाडौं महानगरपालिकाले भने सबै सवारीसाधनलाई नयाँबसपार्कबाट आवतजावत गराउने लक्ष्यका साथ काम गरिरहेको छ ।