ओली कप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदै

सहयात्रा टिभी

काठमाडौँ । फागुन १९, काठमाडौंमा जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

साँझ ६ बजेदेखि हुने फाइनल हेर्न दर्शकहरू दिउँसो १ बजेदेखि नै रंगशाला पुगेका छन् ।

तर फाइनल खेलको व्यवस्थापनमा भने विजोग दृश्य देखिएको छ । रंगशालाको क्षमताभन्दा धेरै बढी पासहरू बाँडेका कारण रंगशाला दिउँसै भरिँदा अझै पनि धेरै दर्शकहरू रंगशाला बाहिर छन् भने सञ्चारकर्मीहरूलाई पनि भित्र जान दिइएको छैन ।

रंगशाला प्रवेश गर्ने सबै गेटहरूमा सुरक्षाकर्मी खटाइएको छ भने पास भएर पनि भित्र जान नपाउँदा दर्शकहरू आक्रोशित छन् भने सञ्चारकर्मीहरूलाई पनि आयोजकले केही जानकारी नगराएको भन्दै बाहिरै रोकिएको छ ।

केही सञ्चारकर्मीहरू धकेलाधकेलकै बीचमा भित्र प्रवेश गरेका छन् । उनीहरूलाई प्रहरीले धकेलाधकेल गर्दै दुस्ख दिएको बताइरहेका छन् । मैदानभित्रको माहोल ठिकै देखिएपनि बाहिरको दृश्य भने विपरित छ ।

रंगशाला बाहिर ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । दर्शकहरू पनि बाहिरै छन् । त्यही भीडले गर्दा सञ्चारकर्मीहरूले पनि प्रवेश पाएका छैनन् । सुरक्षाकर्मीले रंगशाला भरिइसकेको भन्दै सबैलाई मनाही गरिरहेका छन् ।

यसबारेमा आयोजकले पनि कुनै चासो नदिएको गुनासो आइरहेको छ । त्यस्तै सञ्चारकर्मीलाई दिइने प्रवेशबारे पनि सुरक्षाकर्मी र आयोजकका बीचमा तालमेल नमिलेको देखिएको छ ।

एक सञ्चारकर्मीले दर्शकहरू खेलभन्दा पनि खेलपछि हुने कन्सर्टका लागि आएको र आयोजकले पनि क्षमताभन्दा निकै बढी पास बाँडेको दाबी गरेका छन् ।

 

प्रकाशित : 3 March, 2025

प्रतिक्रिया दिनुहोस्