एमाले मोरङको अधिवेशन : नेतृत्व छान्न मतदान शुरु

मोरङ । फागुन २१, शनिवार शुरु भएको एमाले मोरङको १० औ जिल्ला अधिवेशनमा नेतृत्व छान्नका लागि मतदानको सुरु भएको छ ।
उद्घाटन सत्र सकिए लगत्तै निर्वाचनको प्रक्रिया अघि बढ्न नसक्दा नेतृत्व चयनका लागि आज मात्रै मतदानको प्रक्रिया शुरु भएको हो । अधिवेशन स्थलमा अहिले मतदानका लागि प्रतिनिधिहरू लाइनमा बसेका छन् । प्रतिनिधिले मत भने हालिसकेका छैनन् ।
निर्वाचन कमिटीले बुधवार बिहान ७ बजेबाट मतदान सुरु हुने घोषणा गरेको थियो । निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले एक पटकमा २० जनाले मतदान गर्ने व्यवस्था मिलाइएको बताए ।
१६५ सदस्यीय जिल्ला कमिटी चयनका लागि राजकुमार ओझा र अजम्बर राईको नेतृत्वमा प्यानल बनेको छ । दुवै प्यानल चुनावी मैदानमा उत्रिएका छन् । संस्थापन दाबी गर्ने समूहको नेतृत्व ओझाले गरेका छन् । उनको प्यानलबाट उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, दुई उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशी उम्मेदवार छन् ।
इतर समूहबाट अध्यक्षको उम्मेदवार अजम्बर राई हुन् । उनको नेतृत्वमा उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिव द्वयमा सन्तोष बान्तवा र उषा झा उम्मेदवार रहेका छन् ।
मनोनयन दर्ता गरेका ३ सय २५ जना मध्ये ७१ जना सदस्यहरू भने निर्विरोध निर्वाचित भइसकेको जनाइएको छ । ५ पदाधिकारीसहित ९४ पदका लागि १ सय ९१ चुनावी मैदानमा कायम रहेका छन् । त्यस्तै मङ्गलवार ६३ जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।