मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार बर्खास्त

काठमाडौँ । फागुन २१, सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतो र रजिस्ट्रार भगवान ठाकुरलाई हटाइएको छ ।
विश्वविद्यालय सिनेटको मङ्गलवार अबेर राति बसेको बैठकले उपकुलपति र रजिस्ट्रारलाई गर्ने निर्णय गरेको हो । उपकुलपति र रजिस्ट्रारलाई बर्खास्त गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । तत्कालीन जसपा नेपालका नेतृत्वको सरकारले ०८१ मंसिर २१ मा विश्वविद्यालयको उपकुलपतिमा डा. महतोलाई नियुक्त गरेका थियो । त्यसको केहि दिनपछि रजिस्ट्रारमा ठाकुर नियुक्त भएका थिए ।
सिनेटको बैठकले विश्वविद्यालयको बजेट पारित गर्नुका साथै पहिलाको खर्चलाई अनुमोदन गर्ने निर्णय समेत गरेको छ। अब यो विश्वविद्यालयले ३३ करोड बजेट चलाउन पाइने स्रोतले जनाएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई बाइपास गरी विश्वविद्यालय भवनको शिलान्यास गरेको भन्दै दुवै पार्टीबीच चरम विवाद छ । दुई पार्टीको जुङ्गाको लडाइँले विश्वविद्यालय लथालिङ्ग बनेको छ ।
जनमत पार्टीका सिंह मुख्यमन्त्री बनेपछि विश्वविद्यालयमा अनियमितता भएको भन्दै बारे छानबिन समिति बनाएको थियो । उक्त समितिको प्रतिवेदन सार्वजनिक गरिएको छैन । तर नेपाल प्रेसलाई प्राप्त प्रतिवेदनको केहि अंशमा उपकुलपति डा. महतो र रजिस्ट्रार ठाकुरको नियुक्ति नै अवैधानिक रहेको उल्लेख छ । उक्त प्रतिवेदनले विश्वविद्यालयका लागि गरिएको खरिद कार्यमा पनि अनियमितता भएको ठहर गरेको छ । स्रोतका अनुसार सोही प्रतिवेदनको आधारमा सिनेटको बैठकले उपकुलपति र रजिस्ट्रारलाई हटाउने निर्णय गरिएको छ ।