सुतेकै ठाउँबाट ३६ वर्षीय महेश सुवेदी बेपत्ता

सहयात्रा टिभी

काठमाडौँ । फागुन २१, तनहुँको भीमाद नगरपालिका वडा नम्बर २ धरमपानीबाट ३६ वर्षीय महेश सुवेदी बेपत्ता भएपछि खोजीका लागि परिवार तथा आफन्तले अपिल गरेका छन् । घरमा सुतिरहेका सुवेदी फागुन १७ गते बिहान एकाएक बेपत्ता भएका हुन् ।

उनको खोजीका लागि परिवार तथा आफन्तले जिल्ला प्रहरी कार्यालय तनहुँमा निवेदनसमेत दिएका छन् । राति ठूलोबुवाको घरमा सुतेका महेश बिहान कोठामा हेर्दा नदेखेपछि परिवारले खोजी थालेका थिए ।

उनी बिहान सवा ५ बजे सम्पर्कमा आएको र त्यतिबेला आफू ‘कहाँ छु भन्ने थाहा नभएको’ बताएलगत्तै मोबाइल अफ भएको महेशका दाजु तथा वडा नम्बर २ का सचिव गोपालकृष्ण सुवेदीले जानकारी दिए ।

महेश हाल कावासोती नगरपालिका वडा नम्बर ३ मध्यविन्दु टोल बस्दै आएका थिए । उनी भतिजहरुको व्रतबन्धमा धरमपानी पुगेका थिए । सोही बेला सुवेदी बेपत्ता भएको र पाँच दिन भइसक्दा पनि परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि खोजीका लागि हारगुहार गरिएको भाइ दिनेश सुवेदीले बताए ।

प्रहरीले मोबाइलको लोकेसेन ट्रयाकिङ गर्दा तनहुँ, स्याङ्जा र पाल्पाको सीमा क्षेत्र स्याङ्जाको साँखर भन्ने ठाउँमा रहेको नेपाल टेलिकमको टावरको सम्पर्कमा देखिएको थियो । प्रहरीका अनुसार सो टावरका उत्तरपश्चिम क्षेत्रमा मोबाइल अफ भएको देखिएको छ ।

परिवार तथा आफन्तले सो क्षेत्रमासमेत खोजी गरिसकेका छन् भने सो क्षेत्रमा कसैले पनि उनलाई नदेखेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले छिमेकी जिल्ला र अन्य प्रहरी कार्यालयमा पनि सुवेदीको विवरण पठाएर सर्कुलर गरेको छ ।

उनको कल डिटेल मगाएर लोकेसन विश्लेषण गर्ने काम भइरहेको र अहिले नै उनको एकीन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

महेश र जेठी छोरी कावासोतीमा तथा स्वास्थ्यकर्मीसमेत रहेकी श्रीमती र कान्छी छोरी लमजुङ बस्दै आएका छन् ।

 

प्रकाशित : 5 March, 2025

प्रतिक्रिया दिनुहोस्