समाजवादी नेता विष्णु गिरीमाथि नाबालिका करणीको आरोप

काठमाडौँ । फागुन २२, विद्यालयमा यौन हिंसा र गलत मनसायबारे बुझाइरहँदा एक्कासि भक्कानिएकी नाबालिकाले बलात्कारको डरलाग्दो घटना सुनाएकी छन् ।
गरिबीको फाइदा उठाउँदै आफूमाथि बलात्कार भएको र पटकपटक यौनजन्य हिंसा गरिएको नाबालिकाले खुलाएकी हुन् ।
समाजमा प्रतिष्ठित भनिएकै व्यक्तिहरुबाट कसरी बलात्कारका घटना हुन्छन्, यौनजन्य हिंसा हुन्छ भनेर पोखराको एक विद्यालयको कक्षामा बताइरहँदा नाबालिका भक्कानिएकी थिइन् । कक्षाको अन्तिम लहरमा बसेकी १४ वर्षीय बालिका रुन थालेपछि उनलाई अलग्गै राखेर सोधपुछ गरिएको थियो ।
बलिकाले आफूमाथि १ वर्षअगाडि नै बलात्कार भएको र त्यसपछि पनि पटकपटक प्रयास गर्ने, धम्क्याउने काम भएको बताइन् । गरिबीका कारण अरुको घरमा काम गर्दै आमालाई सघाउन र पढ्न भनेर पोखरा आएपछि आफूमाथि बलात्कार भएको नाबालिकाले बताएपछि महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने प्रतिनिधिहरुले प्रहरीलाई खबर गरेका थिए ।
नाबालिकाको बयानपछि प्रहरीले फागुन २ गते नै जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी लिएको थियो । पक्राउ पुर्जी जारी भएका व्यक्ति एकीकृत समाजवादीका गण्डकी उपाध्यक्ष तथा स्याङ्जा जिल्ला अध्यक्षसमेत रहेका विष्णु गिरी हुन् ।
घटनाको अनुसन्धानका क्रममा फरार रहेका गिरी स्याङ्जामा रहेको पाएपछि कास्की प्रहरीले पक्राउका लागि फागुन १३ गते स्याङ्जा प्रहरीलाई पत्र पठाएको थियो ।
त्यही पत्रको आधारमा नाबालिकामाथि करणी गरेको अभियोगमा स्याङ्जा प्रहरीले गिरीलाई २० गते पक्राउ गरी कास्की प्रहरीलाई बुझाएको छ । गिरीलाई स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ बाटै पक्राउ गरिएको हो ।
जबर्जस्ती करणीको अभियोगमा कास्की प्रहरीले बुधबार ६ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको कास्की प्रहरी प्रमुख एसपी श्यामनाथ ओलियाले जानकारी दिए ।
किटानी जाहेरी परेर अनुसन्धान थालेपछि गिरीले गत साल फागुनमै नाबालिकामाथि जबर्जस्ती करणी गरेको र त्यसपछि पनि पटकपटक प्रयास गरेको खुलेको हो ।
गरिब परिवारकी नाबालिकालाई तत्काल उद्धार गरी अनुसन्धान अगाडि बढाइएको एसपी ओलियाले बताए । गिरीले नाबालिकालाई प्रभाव तथा दबाबमा पारेर करणी गर्ने, घटना लुकाउन दबाब दिने र गरिबीको फाइदा उठाउँदै पटकपटक यौनहिंसा गरेको परिवारको आरोप छ ।
गत साल असोजदेखि आफूमाथि भएको करणी र हिंसा नाबालिकाले लुकाएर राखेकी थिइन् । तर विद्यालयमा बालिकाहरुमाथि कसरी करणी हुन्छ, कसरी घटना लुकाउन खोजिन्छ र करणीपछि कसरी, कहाँ आफ्ना कुरा राख्ने भन्ने विषयमा अभिमुखीकरण गरेपछि बल्ल नाबालिकाले आफूमाथि भएको घटनाबारे मुख खोलेकी हुन् ।
गिरी केही महिना अगाडि मात्र एकीकृत समाजवादी पार्टी स्याङ्जाको अध्यक्ष बनेका थिए भने माघ अन्तिममा मात्र गण्डकीको उपाध्यक्ष बनेका हुन् ।
उनी लामो समय विदेश बसेर फर्किएका थिए । त्योभन्दा अगाडि उनले त्रिभुवन विश्वविद्यालयमा पनि अध्यापन गर्ने गरेको पाइएको प्रहरी स्रोतको भनाइ छ ।
गिरी परिवारसहित काठमाडौं बस्दै आएका थिए । पोखरामा उनी परिवारका सदस्यका साथ बस्ने गर्थे । त्यही बेला उनले ती नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोप छ ।