अबको शिक्षा उद्यमशीलता सिर्जना गर्नसक्ने बनाउनुपर्ने : प्रधानमन्त्री ओली

काठमाडौँ । फागुन २३, प्रधानमन्त्री केपी शर्मा ओलीले अबको शिक्षा उद्यमशीलता सिर्जना गर्नसक्ने बनाउनुपर्ने बताएका छन् ।
मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले अबको शिक्षा प्रतिस्पर्धात्मक र उद्यमशीलता सिर्जना गर्ने खालको नभए मुलुक नै पछि पर्ने बताए ।
‘जुन मुलुकले आफ्नो मुलुकमा रहेका स्रोतसाधनको प्रयोग र परिचालन गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैन । त्यो मुलुक विकासको दौडमा पछाडि पर्ने निश्चित हुन्छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरूलाई देशभक्ति, देशप्रति उत्तरदायी हुने मानवतावादी बन्न आग्रह समेत गरे । मानवतावादको मूल ध्येय बोकेर अहिलेका विद्यार्थीहरूले अध्ययन, अनुसन्धान गर्नुपर्नेमा उनले जोड दिए ।
‘अब पुँजीवाद र समाजवादका बहस गरिरहनु पर्दैन, सबैभन्दा ठूलो मानवतावाद हो’, प्रधानमन्त्री ओलीले भने ।
मध्यपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आजको युग कृत्रिम बौद्धिकतायुक्त प्रविधि र सृजनशीलताको युग भएको उल्लेख गर्दै उच्च शिक्षा अध्ययनमा लाखौँ विद्यार्थी र अबौँ पुँजी विदेश पलायन हुनु चिन्ताजनक अवस्था रहेको बताए ।
शिक्षा केवल डिग्री प्राप्त गर्नु मात्र नभई जीवनलाई सही दिशा दिने मार्ग भएकाले दीक्षित भएका विद्यार्थीलाई आफ्नै देशमा नवीनतम काम गर्न समेत प्रधानमन्त्री ओलीले आग्रह गरे ।