सुदूरपश्चिम प्रदेश सभालाई प्रधानमन्त्रीले आज सम्बोधन गर्दै

सहयात्रा टिभी

काठमाडौँ । फागुन २५, प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम आउँदैछन् । सुदूरपश्चिम विश्वविद्यालयको विशेषसभा तथा पाँचौँ दीक्षान्त समारोहलगायतको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली सुदूरपश्चिम आउन लागेका हुन्। दीक्षान्त समारोह सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसर महेन्द्रनगरमा आयोजना हुने छ । विशेष सभामा विश्वविद्यालयका उच्च पदाधिकारीहरू, प्राध्यापक, विद्यार्थी तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहने छ ।

यसै गरी प्रधानमन्त्री ओलीले आजै सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्ने छन् । प्रदेशसभाको पाँचौँ अधिवेशन अन्तरगत १७ औँ बैठकमा दिउँसो १ बजे प्रधानमन्त्री ओली सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यसै गरी, प्रधानमन्त्री ओलीले आजै धनगढीमा नवनिर्मित सिटी हलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री हेलिकप्टरमार्फत सुदूरपश्चिम आउँदैछन्। ओलीको आगमनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित : 9 March, 2025

प्रतिक्रिया दिनुहोस्