बिमाको लोभमा आफैँले पसलमा आगो लगाए, अहिले प्रहरीको फन्दामा

सहयात्रा टिभी

काठमाडौँ । फागुन २६, बिमा रकम भुक्तानी लिने मनसायले आफ्नो पसलमा आफैं आगो लगाएको अर्को घटना पोखरामा दोहोरिएको छ ।

गत पुसमा मात्र पोखरा–८ न्युरोडमा खुलेको शर्मा आइटी हबमा १ करोड रुपैयाँको बिमा रकम दाबी गर्न सञ्चालक आफैंले आगो लगाएको खुलेको हो । यही फागुन ११ गते हबमा आगलागी भएको थियो ।

यसका सञ्चालक रमेश शर्माले मोबाइल चार्ज गर्ने क्रममा आगो लागेको भन्दै निवेदन दिएका थिए । नेपाल प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

पसलमा आगो लगाएर क्षतिपूर्ति माग गर्दै बिमा रकम दाबी गर्ने गलत मनसाय राखेको अभियोगमा प्रहरीले सञ्चालक रमेश शर्मा लोहारलाई पक्राउ गरेको छ ।

यसअघि गत साउन १६ गते बिहान पोखरा–६ लेकसाइडस्थित मुक्तिनाथ सपिङ सेन्टरमा पनि यसरी नै सञ्चालक आफैंले आगो लगाएको घटना सार्वजनिक भएको थियो ।

स्याङ्जाको आँधिखोला वडा नम्बर ४ का सुजन गहतराजले सञ्चालन गरेको सपिङ सेन्टरमा भएको आगलागीबाट डेढ करोड रुपैयाँको क्षति भएको बताइएको थियो । त्यो बेला गहतराजले ‘इन्भर्टर सर्ट’ भएर आगो लागेको बताएपछि प्रहरीले आशंका गर्दै अनुसन्धान थालेको थियो ।

अनुसन्धानपछि पसलमा घाटा खाएपछि बिमाबापतको रकम दाबी गर्ने गलत मनसायले आफैंले आगो लगाएको अभियोगमा गहतराज र उनलाई सघाउने पवन नेपाल पक्राउ परेका थिए । अहिले उनीहरु पुर्पक्षका लागि थुनामा रहेको एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

अहिले शर्माले पसल दुई दिनअघिदेखि बन्द रहेको, कामदारहरू बिदामा रहेको र आगलागीको कारणबारे खुलाएको तथ्यमाथि आशंका भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । कामदार बिदामा रहेको अवस्थामा रमेश आफैंले आगो लगाएको पाइएको कास्की प्रहरी प्रमुख एसपी ओलियाले जानकारी दिए ।

‘गत माघ महिनामा इन्सुरेन्स गराएको पाइयो । त्यही रकम दावी गरी लिने दूषित मनसायका साथ शर्माले आइटी हबमा आफैंले आगो लगाएको आशंका भयो,’ एसपी ओलियाले भने, ‘ बिमा रकम दाबी गर्नकै लागि आफैंले आगो लगाएको प्रमाणहरु फेला परेपछि पक्राउ गरी ७ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाएका छौं ।’

शर्माले पोखरा–२७ तालचोकमा पनि शर्मा आइटी हब सञ्चालन गर्दै आएका थिए । जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ घर भएका रमेशले ५ वर्ष अगाडिदेखि शर्मा आइटी सोलुसन नामक पसल सञ्चालन गरिरहेका थिए । त्यहाँ ६ जना कामदारसमेत छन् ।

उनै शर्माले गत पुसमा न्युरोडमा पसल खोलेर माघमा बिमा गरी फागुन १९ गते आफैंले पसलमा आगो लगाएको पाइएको एसपी ओलियाले जानकारी दिए ।

न्युरोडको पसलमा २ जना कामदार थिए । उनीहरु बिदामा रहेका बेला मोबाइल चार्जमा राखेर ट्वाइलेट गएर फर्किँदा केही आवाज आई आगो लागेको बेहोरा उल्लेख गर्दै रमेशले बिमा रकम दाबी गरेर निवेदनसमेत दिएको पाइएको थियो ।

घटनाको प्रकृति अध्ययन, घटनास्थल विवरण शंकास्पद भेटिएपछि प्रहरीले सञ्चालकमाथि नै अनुसन्धान थालेको थियो । अनुसन्धानका लागि आफैंले आगो लगाएको प्रशस्त आधार प्रमाण भेटिएर उनलाई पक्राउ गरिएको एसपी ओलियाको भनाइ छ ।

उनीमाथि आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : 10 March, 2025

प्रतिक्रिया दिनुहोस्