प्रतिनिधिसभामा आज प्रचण्डले सम्बोधन गर्ने

काठमाडौँ । फागुन २७, संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ ।
आज दिउँसो १ बजे बस्ने बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्।
सोमबार सभामुख, प्रमुख सचेतक र सचेतकहरूबीचको छलफलले प्रतिनिधि सभाको बैठकमा प्रचण्डले सम्बोधन गर्ने कार्यसूची तय गरेको हो।
प्रचण्ड माओवादी केन्द्रको तराई मधेश जागरण अभियान केही दिनलाई स्थगित गरेर काठमाडौं आएका हुन्।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले उपभोक्ता अदालतको गठन सम्बन्धी सूचना टेबुल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै यसलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।