नयाँ दिल्लीमा परराष्ट्रमन्त्री राणा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

सहयात्रा टिभी

काठमाडौँ । फागुन २९, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता हुने भएको छ । नयाँ दिल्लीमा मार्च १७ देखि सुरू हुन गइरहेको राइसिना डायलगमा उनीहरूबीच भेटवार्ता हुने भएको हो ।

‘राइसिना डायलग कार्यक्रमका दौरान परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता हुने उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार त्यही अवसरमा अन्य मित्रराष्ट्रका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ)द्वारा मार्च १७ देखि १९ सम्म नयाँ दिल्लीमा आयोजना हुने राइसिना डायलगमा सहभागी हुन राणा नयाँ दिल्ली पुगेकी छन् ।

झारखण्डस्थित बाबा बैद्यनाथ धामको दर्शन तथा पूजाआजापछि परराष्ट्रमन्त्री राणा बिहीबार नयाँ दिल्ली पुगेकी हुन् । उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर र भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले स्वागत गरेका थिए ।

मन्त्री राणाले राइसिना डायलगमा ‘जलवायु परिवर्तनको अवस्था र समस्या’ तथा ‘दक्षिण के चाहन्छ’ नामक छुट्टाछुट्टै सत्रमा सहभागी भएर नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार परराष्ट्रमन्त्री राणाले ‘डिजिटल पब्लिक इन्फ्रास्टक्चर कन्क्लेभ’लाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसअघि परराष्ट्रमन्त्रीले नयाँदिल्लीस्थित नेपाली राजदूत डा शंकर शर्मामार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटका लागि पहल गरिरहेको पनि समाचार आएको थियो । राजदूत शर्माले दुई नेताबीच भेटको वातावरण मिलाउन पहल गरिरहेको बताइए पनि यसको अझै पुष्टि भएको छैन । लामो सयमपछि दुई समकक्षीबीच भेट हुने भने पक्का भएको छ ।

गत असार ३१ गते प्रधानमन्त्रीमा नियुक्त भएयता प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको न्यूयोर्कमा भारतीय समकक्षी मोदीसँग संवाद गरेका थिए । ओली र भारतका प्रधानमन्त्री मोदीबीच न्यूयोर्कमा गत असोज ७ गते भेटवार्ता भएको थियो । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभाका क्रममा न्यूयोर्क लोते प्यालेसमा साइडलाइन भेटवार्ता भएको थियो ।

त्यस भेटबाट पनि नेपाल-भारत सम्बन्धको चिसोपना नहटेको चर्चा छ । त्यहीकारण भारतीय प्रधानमन्त्री मोदीले अहिलेसम्म समकक्षी ओलीलाई निम्तो पठाएका छैनन् । यसअघि ३ भदौमा भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् ।

भेटमा परराष्ट्रमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी थिइन् । तर न त मोदीले अहिलेसम्म निम्तो स्वीकारेका छन् न त ओलीलाई नै बोलाएका छन् । भारतले निम्तो नदिएपछि ओली गत मंसिर १७ देखि २० सम्म चीन भ्रमण गरेर बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेर आइसकेका छन् ।

ओलीको उक्त कदमले दक्षिणी छिमेकी झनै बिच्किएको कूटनीतिज्ञहरूले टिप्पणी गर्दै आएका छन् । ओलीसँगै चीनबाट फर्किएपछि परराष्ट्र मन्त्री देउवा युरोप यात्रामा गएका बेला भारत पुगेकी थिइन् ।

युरोप हुँदै गत ४ पुसमा दिल्ली आइपुगेकी परराष्ट्रमन्त्री देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताएकी थिइन् । नयाँ दिल्लीमा पुस ५ मा आयोजित भारत-नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मन्त्री डा. राणाले यस्तो बताएकी थिइन् ।

त्यसबेला पनि उनले भारतीय विदेशमन्त्री र प्रधानमन्त्रीलाई भेट्ने कोसिस नगरेकी होइनन् । तर बीआरआई फ्रेमवर्क सम्झौता अघि बढेपछि चिढिएको दिल्लीले उनलाई समय दिएन । त्यसपछि उनी खाली हात फर्किइन् । अब फेरि उनी चैत पहिलो साता दिल्ली यात्रामा निस्किन लागेकी हुन् ।

उनले त्यहाँ रहँदा आगामी अप्रिल २- ४ सम्म थाइल्याण्डको राजधानी बैंककमा हुने विम्स्टेक सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीसँग साइडलाइन वार्ताको वातावरणका लागि पनि लबिइङ गर्ने चर्चा छ । तर यसबारेमा नेपाल र भारत दुवै पक्षका अधिकारीहरूको औपचारिक धारणा आएको छैन ।

यसैबीच ११ फागुनमा द हिन्दुलाई दिएको अन्तर्वार्तामा मन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण २०८२ को असार १५ (जुन २०२५) भित्र हुने बताइन। द हिन्दूसँगको कुराकानीमा परराष्ट्रमन्त्री राणाले असार १५ भित्र प्रधानमन्त्रीको भारत भ्रमण हुने आशा राखेको बताएकी थिइन् ।

त्यसअघि प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिमस्टेक बैठकमा ‘साइडलाइन’ वार्ता हुने उनले बताएकी थिइन् । अप्रिलमा बैंककमा हुने बिम्स्टेक बैठकका दौरान प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आउने परराष्ट्रमन्त्री राणाले बताएकी थिइन् ।

परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेपछि राणाले योसहित तेस्रो पटक दिल्ली भ्रमण गरेकी छन् । यस्तोमा प्रधानमन्त्री ओलीको भारत भ्रमणमा भएको ढिलालाई दुई देशबीच तनाव नहटेको रुपमा ब्याख्या गरिएको छ । भारतबाट निम्तो नआएपछि प्रधानमन्त्री ओली आफ्नो पहिलो औपचारिक भ्रमण चीनबाट गरिसकेका छन् ।

प्रकाशित : 13 March, 2025

प्रतिक्रिया दिनुहोस्