पहिलोचोटि देउखुरी क्रिकेट मैदान टेकेका कप्तान पौडेलको सरकारलाई यस्तो आग्रह

सहयात्रा टिभी

रुपन्देही । फागुन २९,  क्यानको आयोजनामा दाङको लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिक्रेट मैदान, सिद्धार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा अहिले प्रधानमन्त्री कप फुटबल भइरहेको छ ।

प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली सहभागी छन् । राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा सञ्चालन गरिएको । काठमाडौं बाहिर रहेका विभिन्न प्रदेशका क्रिकेट मैदानको अवस्था र पूर्वाधारको तयारीबारे यो प्रतियोगिताले सरकारलाई झकझकाउने खेलप्रेमीहरू बताउँछन् । टीयु मैदान कीर्तिपुरमा मात्रै सीमित प्रतियोगिता काठमाडौं बाहिर लुम्बिनीका तीनवटा मैदानमा भएपछि क्रिकेट फ्यानहरू उत्साहित छन् ।

नेपाली क्रिक्रेट टिमका कप्तान रोहित कुमार पौडेलले राष्ट्रिय क्रिकेट प्रतियोगिता लुम्बिनीका ३ वटा क्रिकेट मैदानमा सञ्चालन भइरहेकोमा खुसी व्यक्त गरेका छन् । उनले देउखुरी अन्तर्राष्ट्रिय क्रिक्रेट मैदान परिसरमा पत्रकार सम्मेलनमार्फत यस्तो कुरा बताएका हुन् । टीयू मैदान कीर्तिपुरबाहेक लुम्बिनी प्रदेशमा रहेका तीनवटै सुविधा सम्पन्न मैदानमा प्रतियोगिता खेल्न पाउँदा आफुलाई गर्व लागेको विचार उनले राखे ।

उनले भने,‘लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिक्रेट मैदान यति सुविधा सम्पन्न होला भनेर कल्पनासमेत गरेको थिएन । मैदान पनि उतिकै राम्रो र भौतिक संरचनाले पनि सम्पन्न रहेको यो मैदानको एरिया पनि ठूलो र उतिकै राम्रो रहेको छ । हामीले खेल्ने मैदानको एरियाकै बराबर रहेको छ ।’‘म योभन्दा अगाडि यो मैदानमा पाइला टेकेको पनि थिइनँ । तर, मलाई यो देउखुरी अन्तर्राष्ट्रिय क्रिक्रेट मैदान निकै मन पर्‍यो’, पौडेलले यो मैदानको भविष्य ठूलो रहेको बताए ।

‘दुई वर्ष लगातार काठमाडौं भ्यालीभित्र खेल खेल्यौँ त्यसपछि काठमाडौं बाहिर रहेका विभिन्न खेल मैदानहरूमा पनि हामीले खेल खेलिरहेका छौं’, उनले भने,‘काठमाण्डौं भ्यालीभन्दा बाहिर भइरहेका विभिन्न ट्रफीका खेलहरू पनि खेलिरहेका छौँ । काठमाडौं भ्यालीभन्दा बाहिर खेलहरू जानु भनेको खुसीको कुरा हो ।’

उनले देउखुरी अन्तर्राष्ट्रिय क्रिक्रेट मैदान आन्तरिक खेलहरुको लागि निकै राम्रो रहेको बताउँदै अन्तर्राष्ट्रिय क्रिक्रेट प्रतियोगिताको सञ्चालन गर्नको लागि मैदानलाई थप मर्मतसम्भार र व्यवस्थित बनाउन आवश्यक रहेको बताए । सरकारले चासो दिए मैदानको पूर्वाधार व्यवस्थितमा समय नलाग्ने उनले बताए ।

‘मलाई लाग्छ नेपाल क्रिक्रेट संघ केन्द्रको नजरमा परेको यो मैदान हो । नेपाल सरकारको नजरमा पर्न जरुरी छ । यो मैदानमा सरकारले लगानी लगाउन आवश्यक रहेको छ । सरकारले चाहे एकवर्षमा यस मैदानलाई थप व्यवस्थित गर्न सकिन्छ । नेपाली क्रिकेटको भविष्य उज्ज्वल देखिन्छ । युवा प्रतिभाको प्रस्फूटन, व्यावसायिक लिगको सुरूवात र अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शनले नेपाललाई आगामी वर्षहरूमा उत्कृष्ट क्रिकेट राष्ट्रका रूपमा चिनाउने सम्भावना छ’, पौडेलले भने ।

राज्यले दीर्घकालीन खेलकुद रणनीति बनाउनु, बजेटको उचित व्यवस्थापन गर्नु, स्थानीय तहहरूमा खेल सुविधाहरू बिस्तार गर्नु, र विभिन्न सफलता दिन सक्ने खेलहरूको पहिचान गरी ती खेलहरूको विकासका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक रहेको पौडेलले बताए । उनले खेलाडीहरूको भविष्य सुरक्षित गर्न सामाजिक सुरक्षा र व्यवसायिक अवसरहरू पनि थप्नुपर्ने विषयमा सरकार गम्भीर बन्न आवश्यक रहेको विचार व्यक्त गरे ।

प्रकाशित : 13 March, 2025

प्रतिक्रिया दिनुहोस्