आजदेखि सिनेमा हलमा ‘द्रौपदी’ र ‘११ः५५’

काठमाडौँ । चैत ८, फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारदेखि दुई नयाँ फिल्महरु देशव्यापी प्रदर्शनमा आएका छन् । आजदेखि ऋषिराज आचार्यद्वारा निर्देशित फिल्म ‘द्रौपदी’ तथा केशव पाण्डेद्वारा निर्देशित फिल्म ‘११ः ५५ः डु नट ट्रस्ट एनिवन’ प्रदर्शनमा आएका हुन् ।
योसंगै दर्शकले सोसल ड्रामा जनराको ‘द्रौपदी’ तथा क्राइम थ्रिलर जनराको ‘११ः५५’ बाट मनोरञ्जन लिन पाएका छन् । यसअघि प्रदर्शनमा आएका अञ्जिला, होस्टेल–३, आउट ल, राजागञ्ज तथा लाज शरणम् पनि सिनेमा हलमा प्रदर्शनरत छन् ।
ऋषिराज आचार्य निर्माता तथा निर्देशक रहेको फिल्म ‘द्रौपदी’ ले कर्णालीको दुर्गम क्षेत्रको कला, संस्कृति, भाषा, परम्परा र त्यहाँको जनजीवनको पीडालाई समेटेको बताइएको छ । यो फिल्ममार्फत नेपाल आइडलको उपाधि विजेता गायक रवि ओडसहित विभिन्न नयाँ कलाकारले अभिनयमा डेब्यू गरेका छन् । फिल्ममा अश्विनी शाही, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता पौडेल तथा निर्देशक आचार्यले अभिनय गरेका छन् ।
आरबी मुभिजको ब्यानरमा बनेको यो फिल्मको निर्माता निर्देशक आचार्य स्वयं तथा प्रकाश ज्ञवाली हुन् । विष्णु ठडराई सह–निर्माता रहेको यो फिल्मको गीतमा रवि ओड र इन्द्रकला राईको स्वर छ ।
केशव पाण्डेको डेब्यु निर्देशकीय रहेको ‘११ः५५’ मा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेब्यु अभिनेता सागर खनालको अभिनय छ । यो फिल्ममा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ ।
अलमोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवासराज काफ्ले फिल्ममा प्रोडक्सन डिजाइनरका रूपमा रहेका छन् । विचित्र फिल्मस् र गुड जब आर्टसको ब्यानरमा निर्माण भएको ‘११ः५५’ मा श्याम शर्मा तथा सरोजा शर्माको लगानी छ । यो फिल्मका कार्यकारी निर्माता एमएस अग्रज हुन् ।