प्रचण्ड भन्छन्- शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन राजनीति नगरौँ

सहयात्रा टिभी

काठमाडौँ । चैत १४, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया आफ्नै मौलिकतामा सम्पन्न हुन लागेको बताएका छन् ।

बिहीबार काठमाडौंको एभरेष्ट होटलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया टुंग्याउन ढिला भए पनि आफ्नै मौलिकतामा अघि बढेको बताएका हुन् । ‘शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन कोसिस गरिरहेको छु । यसकै कारण पार्टी विभाजनको पीडा पनि सहेको छु,’ उनले भने, ‘शान्ति प्रक्रिया दुर्घटनामा नजाओस भनेर सचेत छु ।’

टीआरसीलाई टुंग्याउन राजनीतिक नेतृत्वसँग छलफल भइरहेको उनले बताए । अध्यक्ष प्रचण्डले पीडितहरूलाई न्याय चाहिन्छ भनेर आफूले नै अडान लिएको बताए । ‘पीडितलाई न्याय चाहिन्छ भनेर अडान लिएको हुँ । यो कुरामा राजनीतिक नेतृत्व तहमा सहमति मैले गराएको हुँ,’ उनले भने ।

जघन्य मानव अधिकारका घटना मुद्दामा जानुपर्छ भनेर प्रस्ताव गरेको पनि बताए । ‘जघन्य मानव अधिकारका घटनामा मुद्दामा जानुपर्छ भनेर माओवादी नेताले भनेनन् होला भन्ने मैले सुनेको पनि छु । तर, त्यस्तो होइन,’ उनले भने ।

राजनीतिक नेतृत्व पनि पीडितलाई न्याय दिनुपर्छ भन्नेमा सहमत भएको उनले बताए । राजनीतिक उतारचढावका कारण शान्ति प्रक्रिया टुंगोमा पुग्न ढिलाइ भएको उनले बताए । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने काममा कुनै पनि नेताहरूले अन्यथा लिन नहुने उनले बताए । ‘सबै एक ठाउँमा छौँ । ऐन बनेको छ र त्यसलाई यथावत रूपमा लैजानुपर्छ । विधेयकमा केही संशोधन भन्ने छ । तर, अब त्यसमा प्रवेश गर्नु हुँदैन । फेरि समय लिएमा दुर्घटना हुन्छ,’उनले भने ।

अध्यक्ष प्रचण्डले शान्ति प्रक्रिया टुंगोमा पुग्न ढिलाइ हुनुमा धेरै कारण रहेको बताए । ‘विश्वका धेरै ठाउँमा युद्ध भएका छन् । संक्रमणकालीन न्यायका राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता छन् । नेपालको शान्ति प्रक्रियालाई अन्तर्राष्ट्रिय रूपमा ‘रिफरेन्स’ हुने गरी अगाडि बढाएका छौँ । यसले अन्तर्राष्ट्रिय समुदायलाई पनि सम्मान हुन्छ,’ उनले भने ।

प्रकाशित : 27 March, 2025

प्रतिक्रिया दिनुहोस्