शिक्षकका माग पूरा नभए एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने

सहयात्रा टिभी

काठमाडौँ । चैत १४, आफ्ना माग पूरा नभएको भन्दै शिक्षकहरूले माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण नगर्ने भएका छन् ।

नेपाल महासंघले शिक्षकहरूलाई २० चैतदेखि काठमाडौंमा शैक्षिक सडक आन्दोलनमा सहभागी हुन निर्देशन दिँदै एसईई लगायतका कुनै पनि परीक्षाको उत्तरपुस्तिका परीक्षण नगर्न भनेको छ ।

७ चैतदेखि सुरु भएको एसईई १९ गते सकिँदै छ । अध्यक्ष सुवेदीका अनुसार ४ लाख शिक्षक कर्मचारी छन् । तीमध्ये ७५ प्रतिशत शिक्षक कर्मचारी सडक आन्दोलनका लागि काठमाडौं आउने बताए ।

महासंघले २० गतेदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गर्ने सभा, समारोह, तालिम, गोष्ठी लगायतका गतिविधिमा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ ।

काठमाडौंमा प्रदर्शन गर्न महासंघले शिक्षक–कर्मचारीबाट आन्दोलन परिचालन शुल्क पनि उठाउने निर्णय गरेको छ । प्रति शिक्षक कर्मचारी शुल्क १०० रुपैयाँ निर्धारण गरेको महासंघले ५० रुपैयाँ केन्द्रमा पठाउन भनेको छ ।

आन्दोलनरत शिक्षक महासंघसँग सहजीकरण र वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति बनाएको छ । तर उक्त समितिसँँग वार्ताको औचित्य नरहेको महासंघको भनाइ छ ।

दोस्रो चरणको आन्दोलन अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा शिक्षकहरू रिले अनशमा पनि बसिरहेका छन् ।

प्रकाशित : 27 March, 2025

प्रतिक्रिया दिनुहोस्