शिक्षक महासङ्घद्वारा भोलिदेखि आम शैक्षिक हड्तालको घोषणा

सहयात्रा टिभी
काठमाडौं । चैत २४,   काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आएका शिक्षकहरुले आम शैक्षिक हड्तालको घोषणा गरेका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भोलि सोमवारदेखि शैक्षिक हड्ताल घोषणा गरिएको हो ।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ती निकालेर देशभरका सबै विद्यालय बन्द गरी आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासङ्घको नेतृत्वमा शिक्षकहरुले आन्दोलन गर्दै आएका छन् ।
गएको चैत २० गतेदेखि काठमाण्डौमा निरन्तर प्रदर्शन गरिरहेका छन् । महासङ्घले आन्दोलनको अवधिभर उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणलगायतका कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ । उनीहरुको आन्दोलनका कारण विद्यालयमा भर्ना अभियान प्रभावित भएको छ । त्यस्तै एसईईको यसैहप्तादेखि उत्तरपुस्तिका परीक्षण शुरु गर्ने तयारी रहेकोमा ढिलाई हुने देखिएको छ । यसले असार पहिलो हप्ता सार्वजनिक गर्ने भनिएको नतिजामा पनि ढिलासुस्ती हुन सक्ने देखिन्छ ।

प्रकाशित : 6 April, 2025

प्रतिक्रिया दिनुहोस्