आज शिक्षकहरुले गरे कालो मास्क लगाएर मौन प्रदर्शन

काठमाडौं । चैत २५, काठमाण्डौ केन्द्रित सडक आन्दोलन गरिरहेका शिक्षकहरुले आज कालो मास्क लगाएर मौन प्रदर्शन गरेका छन् ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेर चैत २० गते बुधवारदेखि काठमाण्डौ केन्द्रित प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज कालो मास्क लगाएर मौन प्रदर्शन गरेका हुन् ।
शिक्षकहरुले हिजो सिठी बजार तथा अस्ति शनिवार सडकमा सुतेर प्रदर्शन गरेका थिए । प्रदर्शनलाई सरकारले वेवास्ता गरेपछि आजदेखि शैक्षिक हडतालको घोषणा गरेको शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनुभयो ।
सरकारले वार्ताका लागि बोलाए पनि महासङ्घले अस्वीकार गर्दै आएको छ । ऐन जारी हुने अवस्था नबनेसम्म वार्तामा नजाने महासङ्घको अडान छ । सरकारसँग २०८० सालको असोजमै सहमति भइसकेकोले त्यही सहमति अनुसार ऐन जारी हुनुपर्ने सुबेदीले बताउनुभयो ।
शिक्षकहरुको हडतालका कारण विद्यालय भर्ना अभियान र एसईईको नतिजा प्रकाशन तयारी प्रभावित बन्ने जोखिम छ ।
यसबेला विद्यालयमा पढाई भने चलेको छैन । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु दोस्रो पटक काठमाण्डौ आएका हुन् ।
यसअघि २०८० असोजमा तीन दिन प्रदर्शन गरेपछि सरकारसँग सहमति गरेर विद्यालय फर्केका थिए । तर विधेयक पारित गर्न ढिलाइ भएकोले फेरी आन्दोलनमा आउनुपरेको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनुभयो ।