मापदण्ड विपरीतका सवारीसाधन सञ्चालनमा रोक लगाउने

सहयात्रा टिभी

काठमाडौं । चैत २५, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी भइरहेको बताएका छन् ।

सोमबार मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरूसँगको छलफलमा उनले नियम विपरीत सञ्चालनमा रहेका सवारीसाधन सञ्चालनमा रोक लगाउन सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृह मन्त्रालयसँग समेत समन्वय गरिने बताए ।

सडक निर्माण स्थलमा सवारीसाधन अवरोध हुन नदिन वैकल्पिक रुट तथा डाइभर्सन व्यवस्थापनलाई समेत प्राथमिकता दिइने उनले बताए ।

काठमाडौ र पूर्वी नेपाल जोड्ने बीपी राजमार्ग मर्मतलाई तीव्रता दिइएको भन्दै उनले वैकल्पिक सडकका रूपमा उपयोग हुने कान्ति लोकपथ मर्मतलाई समेत प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले यातायात सञ्चालन व्यवस्थित बनाउन गृह मन्त्रालय, ट्राफिक प्रहरी लगायत निकाय तथा संघीय सरकारसँग थप समन्वय गरिने बताए ।

 

प्रकाशित : 7 April, 2025

प्रतिक्रिया दिनुहोस्