अनलाइनमार्फत नेता कार्यकर्तालाई शेख हसीनाको सम्बोधन

सहयात्रा टिभी

काठमाडौं । चैत २७, बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा अवामी लिगकी नेता शेख हसीनाले मंगलबार आफ्ना पार्टी कार्यकर्ता र समर्थकहरूलाई अनलाइनमार्फत सम्बोधन गरेकी छिन्।

 

उक्त सम्बोधनमा उनले बंगलादेशमा अवामी लिगमाथि प्रतिबन्ध लगाउनुपर्ने मागप्रति आपत्ति जनाइन्।

हाल शेख हसीना भारतमा छिन् । गत वर्ष बंगलादेशमा भएको उग्र छात्र आन्दोलनपछि उनी सन् २०२४ को अगस्ट महिनामा भारत आएकी थिइन्।

त्यसयता मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले हसीनालाई बंगलादेश बुझाउन भारत सरकारसँग अनुरोध गर्दै आएको छ। यसअघि पनि उनले आफ्ना समर्थकहरूलाई अनलाइनमार्फत सम्बोधन गर्दै आएकी थिइन्।

शेख हसीनाले आफ्नो सम्बोधनमा भनिन्, ‘कसैले पनि यो बिर्सनु हुँदैन कि बंगबन्धु शेख मुजिबले अवामी लिगमार्फत बंगाली जनतालाई एकजुट पारेर मुलुकलाई स्वतन्त्रता दिलाउनुभएको थियो।’

उनले बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसमाथि पनि निशाना साध्दै भनिन्, ‘मोहम्मद युनुससँग देश चलाउने कुनै संवैधानिक आधार वा जनादेश छैन।’

युनुसले विदेशी सहयोगमार्फत एक ‘पूर्वनियोजित योजना’ अनुसार सत्ता कब्जा गरेको हसिनाले आरोप लगाइन् ।

शेख हसीनाले अवामी लिगमाथि प्रतिबन्ध लगाउने माग उठाउनेहरूप्रति चर्को प्रतिक्रिया दिँदै भनिन्, ‘यस्ता माग गर्नेहरूको हिम्मत देख्दा म चकित छु।’

उनले थपिन्, ‘उनीहरूले नसोचून् कि मैले सबै कुरा त्यागेर देश छोडेकी हुँ। संविधानअनुसार, म जनताद्वारा निर्वाचित प्रतिनिधि र संसद सदस्यहरूको समर्थन प्राप्त प्रधानमन्त्री हुँ। युनुसको अन्तरिम सरकारको कुनै वैधता छैन।’

बीबीसीका अनुसार शेख हसीनाको यो सम्बोधनबारे बंगलादेश सरकारको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

प्रकाशित : 9 April, 2025

प्रतिक्रिया दिनुहोस्