रविमाथि ज्यादती भन्दै रास्वपाद्धारा मानव अधिकार आयोगको ध्यानाकर्षण

सहयात्रा टिभी

काठमाडौं । चैत २७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको र मानव अधिकार हनन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

आयोगको ध्यानाकर्षण गराउन कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेतक सन्तोष परियार लगायतका नेताहरु आज बिहान आयोगको कार्यालयमा पुगेका थिए ।

उनीहरुले लामिछानेको मानव अधिकार रक्षाका लागि भन्दै आयोग पदाधिकारीको ध्यानाकर्षण गराएका थिए ।

सहकारीको रकम ठगेको कसुरमा चैत २२ गते शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै उच्चले पुर्पक्षमा पठाउन आदेश दिएपछि सोही दिन राति लामिछानेलाई प्रहरीले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो ।

भोलिपल्ट शनिबारको सार्वजनिक बिदा भएकाले दुई रात हिरासतमा राखेर २३ गते मात्रै उनलाई भैरहवा कारागार चलान गरिएको थियो ।

लामिछानेलाई पक्राउ पुर्जी विना नियन्त्रणमा लिएको र प्रहरीले ज्यादती गरेको भन्दै रास्वपाले विरोध जनाउँदै आएको छ ।

 

 

प्रकाशित : 9 April, 2025

प्रतिक्रिया दिनुहोस्