लामो समयपछि अहिले काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । चैत २७, लामो समयपछि काठमाडौं उपत्यकामा पानी परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा अहिले वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार अहिले काठमाडौंका एयरपोर्ट, तीनकुने, फुल्चोकी, चन्द्रागिरि, भक्तपुरको सल्लाघारी, दुवाकोट लगायतका स्थानमा पानी परेको छ ।
वर्षा भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण घट्ने अपेक्षा गरिएको छ भने वायु प्रदूषणबाट नागरिकले राहत पाउने भएका छन् ।
काठमाडौं उपत्यकासहित झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायतका विभिन्न जिल्लामा पनि मेघगर्जन र चट्याङ सहित हल्का पानी परिरहेको उनले बताए ।
मौसमविद्का अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ । कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने पानी पर्ने प्रणाली तुलनात्मक रूपमा कमजोर छ ।
वर्षासँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण केही घटेको छ । हिजोसम्म विश्वका प्रदूषित शहरहरुको सूचीमा पहिलो नम्बरमा रहेको काठमाडौं आज दिउँसो भने दोस्रो नम्बरमा झरेको छ ।
यद्यपि काठमाडौंको वायु अहिले पनि अस्वस्थकर छ । आईक्यूएयरका अनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक १७७ छ ।