डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

काठमाडौं । चैत २८, डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्लाको सायल गाउँपालिका ६ दल्लेखस्थित स्थानीयको लहरी नागरीको घरमा बुधवार राति चट्याङ परेको थियो ।

चट्याङ लागेर नागरीकी ३३ वर्षीया श्रीमती कमला नागरीकको मृत्यु भएको हो । सोही चट्याङमा परेर मृतक कमलाका ४ सन्तान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार नागरीकी १० वर्षीया छोरी तारा नागरी, ८ वर्षीय छोरा अविशेक नागरी, ६ वर्षीय छोरा अबि नागरी र ३ महिनाका छोरा शङ्कर नागरी घाइते भएका हुन् । त्यस्तै सोही ठाउँका ४० वर्षीया महिला तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय बालक खुसी नागरी घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पठाइएको एसपी शर्माले बताए ।