२७ टन बराबरको राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान

काठमाडौं । चैत २८, नेपाल सरकारले म्यान्मार सरकारलाई करिब २७ टन बराबरको राहत सामग्री सहयोगस्वरूप पठाएको छ । परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारी, पत्रकारलगायत १६ सदस्यीय टोली उक्त राहत सामग्री लिएर बुधबार त्यसतर्फ प्रस्थान गरेको हो ।

टोलीले आज बिहान राहत सामग्री म्यान्मार सरकारका प्रतिनिधिलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एसिया महाशाखा प्रमुख तापस अधिकारीले जानकारी दिए । निजी क्षेत्र र सरकारको तर्फबाट २७ टन सामग्री हस्तान्तरण गर्न लागिएको हो ।
म्यान्मारमा गत शुक्रबार सात दशमलव सात म्याग्निच्युडको भूकम्प गएको थियो । जसबाट तीन हजार बढीको मृत्यु भएको छ । भूकम्पबाट क्षतिग्रस्त म्यान्मारलाई सरकारले आवश्यक परेका सामग्रीहरूको सूची माग गरेकामा प्राप्त सूचीअनुसार खाद्यान्न, औषधिलगायत आवश्यक राहत सामग्री उपलब्ध गराइएको महाशाखा प्रमुख अधिकारीले बताए । यसअघि नेपाली सेनाको चिकित्सक टोली म्यानमार गइसकेको छ ।