कुशलको सानदार ब्याटिङ, नेपालको लगातार दोस्रो जित

सहयात्रा टिभी
काठमाडौं । चैत २८,   ओपनर कुशल भुर्तेलको सानादार ब्याटिङसँगै नेपालले चारदेशिय टी–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ।
बिहीबार बिहान सम्पन्न खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको हो। जितसँगै नेपालले फाइनलको सम्भावना उच्च बनाएको छ। नेपालले पहिलो खेलमा कतारलाई आठ विकेटले पराजित गरेको थियो। योसँगै शीर्ष स्थानमा रहेको नेपालले चार अंक पुर्‍याएको छ। अब नेपालले लिग चरणको अन्तिम खेल शनिबार घरेलु टोली हङकङसँग खेल्नेछ। कुवेतले प्रस्तुत गरेको १८६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो।
कुशलले सर्वाधिक ८१ रन बनाए। ५० बल खेलेका उनले समान ६ चौका र छक्का प्रहार गरे। अर्का ओपनर आसिफ शेखले ३८ बलमा दुई चौका र चार छक्कासहित ५३ रन बनाए। यी दुई ब्याटरबीच पहिलो विकेटका लागि १२७ रनको साझेदारी भएको थियफ। १३.५ ओभरमा आसिफ मोहम्मद अस्लामको बलमा निमिष लाथिफबाट क्याच आउट भएसँगै उक्त साझेदारी टुंगिएको थियो।
कुशल मल्ल चार र दीपेन्द्रसिंह ऐरी ३१ रनमा आउट हुँदा कप्तान रोहितकुमार पौडेल चार र गुल्सनकुमार झा नौ रनमा अविजित रहे। हङकङका यासिन पटेलले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले १७ रन खर्चिए। मोहम्मद शफिक र अस्लामको नाममा समान एक विकेट रह्यो।
त्यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८५ रनको योगफल तयार गरेको थियो। कुवेतका ओपनर क्विन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए। ३० बल खेलेका उनले चार चौका र दुई छक्का प्रहार गरे।
मिट भावसारले २८ बलमा दुई चौका र दुई छक्कासहित ३५ रन बनाए। बिलाल ताहिर ३२, रविजा सन्दारुवान २६, कप्तान मोहम्मद असलम १७ र उस्मान पटेल १३ रनमा आउट भए।  नेपालका तीव्र गतिका बलर सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए। नन्दन यादवले दुई विकेट लिँदा कुशल भुर्तेल र ललितनारायण राजवंशीको नाममा समान एक विकेट रह्यो।

प्रकाशित : 10 April, 2025

प्रतिक्रिया दिनुहोस्