ऐरीले बनाए टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान

सहयात्रा टिभी

काठमाडौं । चैत २८, नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् ।

हङकङमा चलिरहेको चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत कुवेतसँगको खेलमा दीपेन्द्रले सबैभन्दा धेरै इनिङ्स विना ‘डक’ अर्थात् शून्यमा आउट नहुने कीर्तिमान बनाएका हुन् ।

दीपेन्द्रले अहिलेसम्म ७६ खेल खेल्दा लगातार ६६ इनिङ्समा डक आउट भएका छैनन् । यसअघि दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो ९ बलमा अर्धशतक बनाउने कीर्तिमान बनाएका छन् । यस्तै दीपेन्द्र एकै ओभरमा ६ छक्का प्रहार गर्ने खेलाडीमध्ये एक हुन् ।

कुवेतले दिएको १ सय ८६ रनको लक्ष्य नेपालले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका कुशल भुर्तेलले ८१, आसिफ शेखले ५३, दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाए । हङकङका यासिन पटेलले २ विकेट लिए ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अहिलेसम्मकै धेरै रनको लक्ष्य भेट्याएको हो । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो ।

नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले हराएको थियो । अब नेपालले लिग चरणको अन्तिम खेलमा पर्सि शनिवार घरेलु टोली हङकङसँग खेल्नेछ । लिगको शीर्ष दुई टोलीले आइतवार फाइनल खेल्नेछन् ।

 

प्रकाशित : 10 April, 2025

प्रतिक्रिया दिनुहोस्