चीनले अमेरिका यात्रा गर्नुअघि सावधानी अपनाउन आग्रह

काठमाडौं । चैत २८, चीनले आफ्ना नागरिकलाई अमेरिका यात्रा गर्नुअघि सावधानी अपनाउन आग्रह गरेको छ ।
अमेरिकासँग बढ्दो व्यापार युद्धका बीच चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले सार्वजनिक गरेको ुट्राभल एड्भाइजरीु मा नागरिकलाई सावधानीपूर्वक यात्रा गर्न र अमेरिका जानुअघि सम्भावित जोखिमको पूर्ण मूल्याङ्कन गर्न सुझाव दिइएको हो ।
चीन–अमेरिका आर्थिक र व्यापार सम्बन्धमा गिरावट र अमेरिकाको घरेलु सुरक्षा नीतिका कारण एड्भाइजरी जारी गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै चीनको शिक्षा मन्त्राललयले पनि आफ्ना विद्यार्थीलाई अमेरिकामा अध्ययनको निर्णय गर्नुअघि सुरक्षा जोखिम आँकलन गर्न चेतावनी दिएको छ ।
भन्सार महसूललाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दो छ । चीनले अमेरिकी वस्तुमा ८४ प्रतिशत भन्सार शुल्क घोषणा गरेको छ । यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामग्रीमा एक सय २५ प्रतिशत भन्सार शुल्क लगाउनुभएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सबै देशका लागि भन्सार शुल्क लगाउनुभएको भए पनि चर्को आलोचनापछि आज चीनबाहेकका देशमा ९० दिनका लागि स्थगित गर्नुभएको छ । चीनले जवाफी कर लगाएकोले फिर्ता नगरेको अमेरिकाको दाबी छ ।
यसैबीच चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङ्गले आफूहरू नयाँ करनीतिबाट पछि नहट्ने बताउनुभएको छ । सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै उहाँले यो व्यापार युद्ध जति लामो चले पनि चीन कहिल्यै नझुक्ने बताउनुभएको हो ।