धरानमा अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको खुल्यो पहिचान

काठमाडौं । चैत २८, गत सोमबार सुनसरीको धरानको जंगलमा अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ ।
मृतक महिला धनकुटाको महालक्ष्मी नगरपालिका– २ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी रहेको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।
डीएसपी खतिवडाका अनुसार उनको माइती महालक्ष्मी नगरपालिका-१ मा पर्छ । दाहाल सुनसरीको इटहरी उपमहानगरपालिका–२, हलगडामा बसोबास गर्दै आएकी थिइन् । प्रहरीका अनुसार आफन्तले शवको पहिचान गरेका हुन् ।
प्रहरीका अनुसार उनका श्रीमान् प्रेम दाहाल वैदेशिक रोजगारीका लागि कोरियामा छ्न् ।
धरान उपमहानगरपालिका–६ स्थित पञ्चकन्या सामुदायिक वनमा सोमबार दिउँसो महिलाको शव फेला परेको थियो । गोठालो गएकाहरुले वनभित्र लसुनेको रुखमुनि अर्धनग्न अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
महिलाको घाँटी कसेर हत्या गरेपछि लसुनेको रुखमुनि अडेस लगाएर शव छाडेजस्तो देखिएको प्रहरीको भनाइ छ ।
शवको कम्मर मुनिको कपडा खोलिएको अवस्थामा थियो । प्रहरीका अनुसार अन्यत्र हत्या गरी महिलाको शव घिसारेको जस्तो पनि देखिन्छ । महिलाको पहिचान खुलेपछि प्रहरीले हत्याको आशंकामा अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार मृतक महिला करिब २ वर्षअघि छोरा पढाउनका लागि इटहरीमा डेरा गरी बस्न थालेकी थिइन् ।