उदयपुर कटारीमा बन्दै गरेको पक्की पुल भाँचियो

काठमाडौं । चैत २८, उदयपुरको कटारी नगरपालिका-२ सिद्धिचरण लोकमार्ग स्थित सिमानपुर र कल्याणपुर जोड्ने अमाहा खोलामा बन्दै गरेको पक्की पुल भाँचिएको छ ।
बुधबार रातिको वर्षापछि अमाह खोलामा बाढी आउँदा निर्माणाधीन पक्की पुल भाँचिएको स्थानीयले बताएका छन् ।
मिर्चैया – कटारी – घुर्मी सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी वीरेन्द्र प्रसाद महतोका अनुसार ढलान गर्दा पुलमा लगाइएका टेकाहरू बाढीका कारण भासिँदा पुल लच्किएको हो ।
मिर्चैया -कटारी – घुर्मी सडक योजना कार्यालयमार्फत सूर्या एन्ड सन्स इटहरीले उक्त पुल निर्माणको जिम्मा लिएको थियो ।
बीचमा पिल्लर नै नभएको ५० मिटरको प्री स्टेस (बक्स अर्डर ) पुल २९ असार २०७९ मा सम्झौता भएको थियो ।
उक्त पुल सहित ४ वटा पुल २९ असोज २०८२ मा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । २ सय ५० मिटर लामो ४ वटा पुल सम्पन्न गर्ने गरी २८ करोड ९९ लाख ५२ हजारमा सम्झौता भएको महतोले जानकारी दिए ।
उक्त आयोजनाले सिमानपुर, ताराघारी, खोक्सा र गिद्दबर गरेर जम्मा ४ वटा पुल निर्माणको जिम्मा लिएको थियो ।
निर्माण सम्पन्न नहुँदै पुल भाँचिएपछि स्थानीय आक्रोशित बनेका छन् । सरकारी निकायको लापरबाहीले पुल भाँचिएको स्थानीय नवराज बास्तोलाले बताए ।
समय समयमा पुलको अनुगमन गरिको भए आज यो अवस्था नआउने उनको आरोप छ । कमसल निर्माण सामग्री प्रयोग भएकै कारण पुल भत्किएको हुन सक्ने आशंका स्थानीयको छ ।