कोशी प्रदेशका दुई विकास समितिमा अध्यक्ष नियुक्त

काठमाडौं । चैत ३०, कोशी प्रदेश सरकारले प्रदेश सरकार मातहतका दुई विकास समितिका अध्यक्षसहित सदस्यहरु नियुक्त गरेको छ ।
हलेसी महादेवस्थान विकास समिति खोटाङका अध्यक्षमा डिल्लीकुमार राई र वृहत्तर वराहक्षेत्र विकास समितिका अध्यक्षमा प्रकाश बस्नेतलाई नियुक्त गरेको छ । समितिमा अन्य तीन महिला सदस्यलाईसमेत मनोनयन गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।
प्रदेश सरकारको ३९औं मन्त्रीपरिसदले विकास समितिका अध्यक्षसहित सदस्यलाई नियुक्त गरेको हो । विकास समितिको गत वर्ष वैशाख २५ गते पदावधि सकिएको थियो । अध्यक्षसहित पदाधिकारी र सदस्य सचिवविहीन विकास समितिमा अब सदस्य सचिवको नियुक्ति बाँकी छ । सदस्य सचिवको नियुक्ति प्रकृया खुल्ला प्रतिस्पर्धाबाट हुने विकास समितिको गठन आदेशमा उल्लेख छ । पाथीभरा क्षेत्र विकास समितिको नियुक्ति भने आगामी मन्त्रीपरिसदको बैठकले गर्ने बताइएको छ ।