वीरगञ्जमा लगाइएको कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

सहयात्रा टिभी

काठमाडौं । बैशाख १, जिल्ला प्रशासन कार्यालय पर्साले आइतवार मध्यरातदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले आइतवार मध्यरात १२ बजेदेखि कर्फ्यु हटाइएको जानकारी दिए ।

प्रजिअ अर्यालले वीरगञ्ज महानगरभित्र समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको र सम्बद्ध पक्षहरूसँग आइतवार सर्वपक्षीय बैठकमा भएको निर्णयका आधारमा उक्त कर्फ्यु आदेशलाई निरन्तरता दिइरहनु पर्ने नदेखिएकाले आइतवार राति १२ बजेदेखि कर्फ्यु आदेश हटाइएको बताए ।

उनले भने, ‘परिस्थिति पूर्वरूपमा सामान्य भई नसकेको वर्तमान अवस्थालाई मध्यनजर गरी वीरगञ्ज महानगर पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सियापुल, उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शङ्कराचार्य गेटतर्फ वैशाख १ गतेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा आदेश भने जारी गरिएको छ ।’

प्रजिअ अर्यालले उक्त आदेशको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइ कानुन बमोजिम कारबाही गरिने पनि स्पष्ट पारेका छन् ।

वीरगञ्ज महानगर क्षेत्रमा दुई समूहबीच शनिबार झडप भएपछि सोही दिन साँझ ६ : ३० बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो ।

प्रकाशित : 14 April, 2025

प्रतिक्रिया दिनुहोस्