रुसद्धारा युक्रेनको सुमी सहरमा भयानक हमला

काठमाडौं । बैशाख १, युक्रेनको सुमी सहरमा रुसले भीषण हमला गरेको छ । हमलामा परी बालबालिकासहित कम्तिमा ३४ जनाको मृत्यु भएको छ । १०० भन्दा बढी घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार आइतबार बिहान सवा १० बजेतिर ब्यालिस्टिक मिसाइलमार्फत् रुसले आक्रमण गरेको हो । त्यतिबेला प्रार्थनाको समय चलिरहेको थियो, बालबालिकाहरु सडकमा खेलिरहेका थिए ।
मिसाइलहरु सुमी राज्य विश्वविद्यालय, त्यसको सम्मेलन केन्द्र, सडक लगायतका स्थानमा खसेका थिए । आक्रमणबाट पाँच वटा अपार्टमेन्ट, चार वटा शैक्षिक संस्था, क्याफे तथा पसलहरू गरी २० वटा भवन क्षतिग्रस्त भएका छन् । सडक ध्वस्त भएका छन् ।
१० वटा कार र ट्रामहरू पनि जलेका छन् । बीबीसीका अनुसार रुसले युक्रेनमा गरेको यो आक्रमण सन् २०२५ कै ठूलो हो ।
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसको निन्दा गर्दै अन्य राष्ट्रहरूलाई आक्रमणको विरोध गर्न अपिल गरेका छन् ।
यसअघि करिब १५ दिन अगाडि साउदी अरबमा भएको १२ दिन लामो वार्तामा रुस र युक्रेनबीच ब्ल्याक सीमा युद्धविराम गर्ने सहमति भएको थियो ।