पूर्वराजा शाहले दिएको भिडियो सन्देशप्रति एमालेको आपत्ति

सहयात्रा टिभी

काठमाडौं । चैत २८, पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको भिडियो सन्देशप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।

पार्टी सचिवालयको बैठकले ज्ञानेन्द्र शाहको अभिव्यक्ति आपत्तिजनक रहेको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । ‘पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति आएको छ ।

उहाँको मनमा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ कि, अहिलेका उपलब्धिहरुलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र त्यस सम्बन्धी सक्रियता जीवितै रहेको पायौं, जुन गलत भयो,’ ज्ञवालीले भने ।

तीनकुने घटनालाई जनतामा आएको जागरण भनेर पूर्वराजाले भनेकोमा पनि एमालेले आपत्ति जनाएको छ । ‘१५ गतेको आपराधिक घटनालाई जनतामा आएको जागरण रुपमा व्यक्त गर्नुभयो ।

सर्वसाधरणको घरमा लुटपाट, तोडफोड, सरकारी कार्यालयमा विध्वंश ‘’ बैठकपछि ज्ञवालीले भने, ‘उहाँले खोजेको जागरण त्यस्तै हो भने त्यो त धेरै आपत्तिजनक कुरा हो । त्यसो भएको हुनाले यस्ता खाले कुनै पनि क्रियाकलाप नगर्नका निम्ति हामीले उहाँलाई भनेका छौं ।’

एमाले बैठकले व्यवस्था उल्ट्याउने प्रयासलाई अबाञ्छित र असफल भनेको छ । ‘मुलुकले लोकतान्त्रिक गणतन्त्रको कोर्स लिइसकेको छ, यसलाई उल्ट्याउने कुनै पनि प्रयास अबाञ्छित हुन् र ती असफल हुनु अनिवार्य छन् । त्यस्तो कुरा नहोस् भन्ने प्रष्ट पार्ने काम बैठकले गरेको छ,’ उपमहासचिव ज्ञवालीले भने ।

 

 

प्रकाशित : 14 April, 2025

प्रतिक्रिया दिनुहोस्