शिक्षकका मागबारे कांग्रेस महामन्त्रीद्वयको चासो, शिक्षक प्रतिनिधिसँग छलफल

काठमाडौं । बैशाख २, सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेपाल शिक्षक महासंघको अगुवाइमा काठमाडौंमा भइरहेको शिक्षकहरूको आन्दोलनप्रति चासो व्यक्त गरेका छन् ।
विगत १३ दिनदेखि लगातार काठमाडौंको माइतीघर–नयाँबानेश्वर क्षेत्रमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शनरत शिक्षकहरूका समस्या समाधानका लागि महामन्त्रीद्वयले आन्दोलनरत शिक्षक अगुवाहरूसँग सोमबार साँझ छलफल गरेका हुन् ।
महामन्त्री थापाको सचिवालयका अनुसार शिक्षकहरूको मागका विषयमा पहलकदमी लिने गरी छलफल भएको छ । छलफलका क्रममा महामन्त्रीद्वयले शिक्षकका मागप्रति नेपाली कांग्रेस सकारात्मक रहेको भन्दै समस्या समाधानका लागि पहल गर्ने बताए ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा यही चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूले शैक्षिक हड्ताल गर्दै माग पूरा नभएसम्म कुनै पनि किसिमका शैक्षिक गतिविधिमा सामेल नहुने घोषणा गरिसकेका छन् । शिक्षकहरूको आन्दोलनका कारण विद्यालय विद्यार्थी भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण, वैशाख ११ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा प्रभावित हुने देखिएको छ ।