भारतको जम्मु काश्मिरमा २७ पर्यटकको गोली हानी हत्या

काठमाडौं । बैशाख १०, भारतको जम्मू कश्मीरको पहलगाममा आतंकबादी समूहले दुई विदेशी पर्यटकसहित २७ जना पर्यटकको गोली हानी हत्या गरेको छ ।
यो घटना पहलगाम शहरबाट ६ किलोमिटर टाढा रहेको बैसरण उपत्यकाको हो ।
मिडिया रिपोर्टका अनुसार आतंककारीहरूले पहिले छुट्टी मनाउन आएका पर्यटकहरूको नाम सोधेका थिए र त्यसपछि उनीहरू धमाधम गोली हानेर भागेका थिए । लश्कर ए तैयबाले सो आक्रमणको जिम्मेवारी लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मृत्यु हुनेमा एक इटाली र एक इजरायलका पर्यटक छन् भने दुई जना स्थानीय नागरिकसमेत रहेका छन् । जम्मु काश्मिरमा मारिनेमा बाँकी पर्यटकहरू गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाको रहेको खुलेको छ ।
आतंककारीहरूले पर्यटकहरू घोडामा सवार हुँदा आक्रमण गरेका थिए । बैसरण उपत्यका घना पाइन वनले घेरिएको छ । यसलाई मिनी स्विट्जरल्याण्ड भनेर चिनिने गरिन्छ ।
पीडितहरूका अनुसार ती आतंककारीको सानो समूहले पहिले पर्यटकको नाम, ठेगाना सोधेका थिए र त्यसपछि धमाधम गोली बर्साउन थाले । त्यसपछि वरपर रहेका अन्य पर्यटकलाई गोली हानेर भागेका थिए ।
सेना र प्रहरीको वर्दीमा रहेका आतंककारीको संख्या तीन देखि चार जना रहेको बताइएको छ ।