चिकित्सक आन्दोलनले सरकारी अस्पतालको ओपीडी सेवा ठप्प

काठमाडौं । बैशाख १२, निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी प्रतिष्ठान सरह नै निर्वाह भत्ता उपलव्ध गराउनुपर्ने माग गर्दै सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुले ओपीडी सेवा ठप्प पारेका छन् ।
आकस्मिक र सघन उपचार बाहेका सेवा बहिस्कार गर्न बिहीबार नेपाल चिकित्सक संघले आह्वान गरेको थियो । जसका कारण काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा आज ओपीडी सेवा प्रभावित भएको छ ।
वीर अस्पतालका आवासीय लगायतका अन्य सिनियर चिकित्सक आन्दोलनमा साथ दिनका लागि माइतीघर मण्डला पुगेका छन् । जसका कारण ओपीडी सेवा सञ्चालन भएको छैन ।
वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले शुक्रबार ओपीडी सेवा सञ्चालन गर्न नसकिएको बताए । ‘हिजो अनलाइनमार्फत टिकट काटेका केही बिरामीलाई ओपीडीमा हेरियो । तर अन्य बिरामीलाई हेर्न सकिएन,’ डा. शर्माले भने, ‘चिकित्सक आन्दोलनमा जाँदा सेवा प्रभावित भएको छ ।’
शर्माका अनुसार भर्ना भएका र आकस्मिक रुपमा आएका बिरामीलाई जसोजतो सेवा दिइएको छ । ‘आइतबार पनि यो समस्याको हल नस्किए स्वास्थ्य सेवा पूर्णरुपमा प्रभावित हुनसक्ने देखिन्छ,’ शर्माले भने ।
वीर अस्पतालमा दैनिक दुई हजारभन्दा बढीले ओपीडी सेवा लिने गरेका छन् ।
यस्तै कान्ति बाल अस्पतालमा पनि ओपीडी सेवा बन्द भएको छ । अस्पतालका निर्देशक डा. पंकज रायका अनुसार आवासीय चिकित्सकले सेवा बहिस्कार गरेका छन् । ‘चिकित्सकले सेवा बहिष्कार गर्दा सेवा प्रभावित भएको छ । आइतबार पनि यही अवस्था रहे स्वास्थ्य सेवा प्रभावित हुने देखिन्छ,’ डा. रायले भने ।
पाटन अस्पतालका आवासीय चिकित्सकले सेवा बहिष्कार गरेपनि अन्य चिकित्सकको सहायताले सेवा सञ्चालन गरिएको निर्देशक डा. रवि शाक्यले बताए ।
आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक शेषराज घिमिरेले शुक्रबारबाट सरकारी अस्पतालका सबै चिकित्सकले आन्दोलनमा साथ दिएको बताएका छन् ।