ओली र देउवाबीच फोनवार्ता, सरकार परिवर्तनको हल्लाबारे कुराकानी

काठमाडौं । बैशाख १२, थाइल्यान्ड भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार परिवर्तन गर्न खोजेको चर्चापछि प्रधानमन्त्री केपी शर्मा ओली र देउवाबीच फोनवार्ता भएको छ ।
देउवाकी श्रीमती समेत रहेकी परराष्ट्रमन्त्री आरजु राणाले थाइल्यान्डबाट फर्किने क्रममा गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएकी हुन् ।
यूएनस्क्यापको सम्मेलनमा अध्यक्ष राष्ट्रको हैसियतमा आरजुको भ्रमणमा देउवा संलग्न भएपछि उनको स्वास्थ्य उपचारको वाहानामा ‘राजनीतिक उपचार’को खोजी भएको चर्चा भएको थियो ।
“अलिकति क्वायर्ड भएपछि अलिअलि इन्टरटेनमेन्टका लागि पनि यस्तो न्युज आउँछ । तर, सरकार परिवर्तन गर्ने त नेपालभित्रै बसेर गर्ने होला, विदेशमा बसेर त यहाँको सरकार परिवर्तन हुँदैन,” परराष्ट्रमन्त्री राणाले भनिन्, “यसबारे हिजो (बिहीबार) बेलुका सभापति र प्रधानमन्त्रीज्युको कुराकानी भएको छ । यस्तो केही पनि छैन ।”
ओलीले के हो भन्दै प्रश्न गरेपछि आफूहरू छक्क परेको आरजुले बताइन् ।