यस वर्षको मनसुनमा वर्षा र तापक्रम सरदरभन्दा बढी

काठमाडौं । बैशाख १८, यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने पूर्वानुमान गरिएको छ । दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्च (सास्कोफ) को बैठकले यो प्रक्षेपण सार्वजनिक गरेको हो ।
भारतको पुणेमा अप्रिल २८ देखि ३० सम्म सास्कोफको ३१औं बैठक भएको थियो । सास्कोफमा दक्षिण एसियाका नौ देश (नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स, अफगानिस्तान, म्यानमार) का मौसमविद्हरू र अन्तर्राष्ट्रिय विज्ञहरू सहभागी थिए ।
उक्त बैठकमा विश्व मौसम संगठन, भारत मौसम विभाग र अन्य क्षेत्रीय तथा विश्वव्यापी मौसम निकायहरूका विज्ञहरू समेतले २०२५ को मनसुनबारे सामूहिक पूर्वानुमान तयार गरेका हुन् ।
सास्कोफका अनुसार अनुसार हालको अवस्थामा एल निनो–दक्षिणी दोलन (एन्सो) र हिन्द महासागर द्विध्रुवीयता (इण्डियन ओसन डाइफल–आईओडी) दुवै तटस्थ अवस्थामा छन् । मनसुन अवधिमा यी जलवायु सूचकहरु तटस्थ अवस्थामै रहने सम्भावना छ ।
सास्कोफको क्षेत्रीय मौसम पूर्वानुमानलाई समेत आधार मानेर नेपालको जल तथा मौसम विज्ञान विभागले राष्ट्रियस्तरमा मनसुन प्रक्षेपण सार्वजनिक गर्दछ । विभागका महानिर्देशक कमलराज जोशीले नेपालको सन्दर्भमा मनसुन कस्तो हुन्छ भनेर छिट्टै पत्रकार सम्मेलन गरेर जानकारी दिइने बताए ।
उनका अनुसार सास्कोफले गरेको प्रक्षेपण नेपालको सन्दर्भमा मिल्ने गरेको छ । यद्यपि नेपालको कुन भागमा कस्तो असर पर्छ भन्नेबारे भने जल तथा मौसम विज्ञान विभागले जानकारी दिने छ ।
यस वर्ष नेपालसहित दक्षिण एसियामा सरदरभन्दा बढी वर्षा, न्यूनतम तापक्रम र अधिकतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना रहेको सास्कोफको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैले यस वर्षको मनसुनमा पनि नेपालमा बाढी, पहिरो, डुबान र कटान जस्ता प्राकृतिक प्रकोपको जोखिम बढ्ने जोखिम भएकाले पूर्वतयारीका काम थाल्न विज्ञहरु सुझाव दिन्छन् ।