केआईआईटीमा अर्की नेपाली विद्यार्थी पनि मृत फेला, छानबिन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल

काठमाडौं । बैशाख १९, भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी-किट) को छात्रावासमा नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाबारे छानबिनका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी मृत भेटिएको घटनाले मर्माहत भएको बताउँदै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको जनाएकी हुन् ।
परराष्ट्रमन्त्री राणाले यो घटनाले निकै मर्माहित बनाएको भन्दै सामाजिक सन्जालमा लेखेकी छन्, ‘प्रिशाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा उनको परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
उनी थप लेख्छिन्, ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको छ ।’
पर्साको वीरगञ्ज निवासी प्रिशा विहीबार राति आफ्नै होस्टेल कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । परिवारका सदस्यहरु त्यहाँ पुगेपछि पोष्टमार्टम गर्ने तयारी छ । प्रिशाका परिवारका सदस्यहरु भारत प्रस्थान गरिसकेका छन् ।
यस्तै, ओडिसा राज्य सरकारले पनि अनुसन्धान थालेको जानकारी दिएको छ । ओडिसा सरकारको आई एन्ड पीआर विभागका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी आयुक्त र राजस्व डिभिजनल कमिस्नरलगायतका वरिष्ठ अधिकारीहरू घटनास्थलमा पुगेका छन्। प्रमाण संकलनका लागि फोरेन्सिक टोली पनि घटनास्थलमा छ।
ओडिसा सरकारको उक्त विभागले विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार केआईआईटी विश्वविद्यालयको कम्प्युटर विज्ञानमा बी.टेक प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा साह होस्टेलको आफ्नै कोठामा मृत भेटिएको खबर स्थानीय प्रहरीले बिहीबार राति ८.१० बजे दिएको थियो।
विश्विविद्यालयका अधिकारीले घटनाबारे मृतकका आमाबुवालाई तत्काल जानकारी दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा शाह मृत भेटिएको घटनालाई अत्यन्त पीडादायी भनेको छ । यस्तो घटना बारम्बार हुँदा पनि राज्य सरकार किन मौन छ भन्ने प्रश्न गर्दै एबीभीपीका राष्ट्रिय महासचिव वीरेन्द्र सिंह सोलाङ्कीले केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न राज्य सरकारसँग माग गरेको छ ।
गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् । विहीबार दोस्रो नेपाली विद्यार्थीको सोही विश्वविद्यालयमा मृत भेटिएकी हुन् ।