राष्ट्रिय हक्की महिलातर्फ गण्डकीको दोस्रो जित

काठमाडौं । बैशाख २०, मौयुरी राईको दुई गोलप्रेरित गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा महिलातर्फ दोस्रो जित आत्मसात् गरेको छ।
ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रबार भएको महिलातर्फको खेलमा गण्डकीले मधेस प्रदेशलाई २–१ ले हराउँदा मौयुरीले दुई गोल गरिन्। उनी प्लेअर अफ द म्याच पनि भइन्। उनी लगातार दोस्रो खेलमा प्लेअर अफ द म्याच भएकी हुन्। नेपाल हक्की संघको आयोजनामा जारी प्रतियोगितामा मौयुरीको यो तेस्रो गोल हो।
मधेसकी गीताकुमारी मिर्निनचिङले एक गोल फर्काइन्। लिगमा दुई जित निकाल्दै गण्डकीले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। राउन्ड रोबिन लिगको आधारमा भइरहेको महिलातर्फको प्रतियोगितामा गण्डकीको यो दोस्रो जित हो।
महिलामा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश गरी चार टोलीले मात्र प्रतिस्पर्धा गरिरहेका छन्। लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधि भिडन्त हुनेछ।
बिहीबार पहिलो खेलमा गण्डकीले बागमती प्रदेशलाई २–१ गोलले हराएको थियो। मधेसको भने दोस्रो हारपछि लिगमा शीर्ष दुई स्थानमा पुग्ने सम्भावना कमजोर भएको छ। मधेसले पहिलो खेलमा आर्मीसँग ७–० को हार सामना गरेको थियो। दुई खेलबाट गण्डकीले ६ अंक बटुलेको छ। आर्मीले एक खेलबाट तीन अंक जोडेको छ। दुई खेल खेलेको मधेसले अहिलेसम्म अंक जोड्न सकेको छैन। एक खेल खेलेको बागमती पनि अंकविहीन छ।
पुरुष: मनोजको ह्याट्रिमा आर्मीको रबाफिलो जित
शुक्रबार नै पुरुषतर्फ भएको खेलमा मनोज चौधरीको ह्याट्रिकमा त्रिभुवन आर्मी क्लबले रबाफिलो जित निकालेको छ।
समूह ‘ए’ को आर्मीले मधेस प्रदेशमाथि १०–१ को रबाफिलो जित निकाल्दा मनोजले ह्याट्रिक पूरा गरे। राजेन्द्र कार्की र अमरबहादुर गुरुङले दुई तथा देवसिंह धामी, प्रदीप राजवंशी र काशिराज राईले समान एक गोल गरे।
आर्मीको यो दोस्रो जित हो भने मधेसले दोस्रो हार सामना गर्यो। आर्मीले पहिलो खेलमा गण्डकीलाई हराएको थियो। मधेसले भने कोसीसँग हार सामना गरेको थियो। पुरुषमा लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा भइरहेको छ। समूह ‘ए’ मा आर्मी र गण्डकीसँगै मधेस र कोसी प्रदेश छन्। शुक्रबारकै समूह ‘बी’ को खेलमा कर्णालीले बागमती प्रदेशलाई २–१ ले हरायो। कर्णालीको जितमा प्रेम भण्डारी र जीवा रावतले समान एक गोल गरे।
कर्णालीका सुशान्त रावत प्लेअर अफ दी म्याच भए। बागमतीका समीर घिमिरेले एक गोल गरे। पहिलो खेलमा बागमतीले एपिएफसँग बराबरी खेल्दा कर्णालीले पुलिससँग हार बेहोरेको थियो। समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, एपिएफ र बागमती छन्।
संघको वार्षिक कार्यक्रमअनुसार सुरु राष्ट्रिय पुरुष र महिला हक्की प्रतियोगिता वैशाख २६ गतेसम्म हुनेछ। पुरुष तथा महिला दुवै प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ।