नागढुङ्गा–नौबिसे सडक राति पाँच घण्टा बन्द हुने

काठमाडौं । बैशाख २१, नौबिसे–नागढुङ्गा सडक १० दिनका लागि रातको समयमा बन्द गरिने भएको छ ।
सङ्घीय राजधानी काठमाडौं आवतजावत गर्ने मुख्य मार्ग मानिने सो सडक यही वैशाख २२ देखि वैशाख ३१ गतेसम्म राति ११ देखि बिहान ३ बजेसम्म सवारीसाधन आवतजावत रोकेर सडक निर्माणको काम गर्न लागिएको हो ।
त्रिभुवन राजपथको नागढुङ्गा–पिप्लामोड क्षेत्रमा सडक निर्माण भइरहेकाले सम्भावित जोखिमबाट बच्न र तीव्रगतिमा काम अघि बढाउन रातिको समयमा सडक बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारीसाधनलाई राति नागढुङ्गा चेकपोष्टमा र नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधनलाई खत्रीपौवा पुलमा रोकिने सूचनामा उल्लेख छ । त्यस समयमा सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न नागढुङ्गा–मुग्लिन सडक योजना कार्यालयले आग्रह गरेको छ ।
साना तथा मझौला सवारीसाधनले सीतापाइला–भीमढुङ्गा–रामकोट–धार्के सडक प्रयोग गर्न सक्नेछ ।
त्यस्तै वैकल्पिक बाटोका रूपमा सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली–गल्छी सडक हुँदै जान सकिने छ ।
एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधनलाई भने रोकिने छैन ।