बर्कशायरको सीईओ पदबाट वारेन बफेटले राजीनामा दिने घोषणा

सहयात्रा टिभी

काठमाडौं । बैशाख २१, विश्वकै सफल लगानीकर्ता मानिने ९४ वर्षीय अरबपति वारेन बफेटले बर्कशायर हैथवेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।

कम्पनीको वार्षिक बैठकमा बफेटले उपाध्यक्ष ग्रेग एबललाई यसैवर्षको अन्त्यदेखि कम्पनीको बागडोर सुम्पिने बताउनुभएको बीबीसीले जनाएको छ ।

विफल टेक्सटाइल कम्पनीबाट शुरु भएको बर्कशायर हैथवेलाई बफेटले एक ठूलो लगानी कम्पनीमा रूपान्तरण गर्नुभएको हो । जसको अहिलेको मूल्य झन्डै एक दशमलव १६ ट्रिलियन डलर रहेको छ ।

कम्पनीले गेको, ड्यूरासेल, डेयरी क्वीनलगायत ६० भन्दा बढी कम्पनीको स्वामित्व राखेको छ, साथै एप्पल, कोकाकोला, बैंक अफ अमेरिका र अमेरिकन एक्सप्रेसजस्ता कम्पनीमा ठूलो लगानी छ ।

ब्लूमबर्गका अनुसार, बफेटको सम्पत्ति अहिले एक सय ५४ अर्ब डलर रहेको छ, जसका आधारमा उहाँ विश्वकै चौथो धनी व्यक्ति हुनुहुन्छ ।

 

प्रकाशित : 4 May, 2025

प्रतिक्रिया दिनुहोस्