एमालेको धनुषा ८औं जिल्ला अधिवेशनमा झडप

काठमाडौं । वैशाख २३, नेकपा एमालेको धनुषाको ८औं जिल्ला अधिवेशन स्थलमा दुई पक्षबीच झडप भएको छ ।
झडपमा दुई नेतासहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा एमालेका भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास रहेका छन् । उनीहरू दुवै जनाको टाउको फुटेको छ ।
निवर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादव समेत कुटिएका छन् । अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर भोला यादव र लक्ष्मीनारायण यादव पक्षबीच विवाद हुँदा कुर्सी हानाहान भएको छ । निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका हुन् ।
भोला यादव एमाले केन्द्रीय सचिव रघुवीर महासेठ पक्षबाट र लक्ष्मीनारायण यादव केन्द्रीय सदस्य उमाशंकर अरगरिया पक्षबाट अध्यक्षका प्रत्यासी हुन् । दुवै पक्षबीच बिहानैदेखि तनाव छ ।
गत २० वैशाखदेखि सुरु अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो ।