भारतका ५ ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी, भारतको आक्रमणमा सयभन्दा बढी आतंककारी मारिए

सहयात्रा टिभी

काठमाडौं । वैशाख २४, पाकिस्तानको सेनाले भारतका ५ वटा फाइटर जेट खसालेको दाबी गरेको छ।

फ्रान्समा निर्मित तीनवटा राफेल बिमान र दुइटा रूसमा बनेका लडाकु जहाज खसालेको उसले दावी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। भारतीय विमानहरूले पाकिस्तानमाथि आक्रमण गरेपछि आफूहरूले पनि भारतीय विमानमाथि आक्रमण गरेर खसालेको पाकिस्तानी सेनाले जनाएको छ।

विमान खसालेको पाकिस्तानी दाबीबारे भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यदि यो पुष्टि भयो भने, यो भारतीय सेनाको लागि दशकौंपछिको सबैभन्दा ठूलो क्षति हुनेछ भनेर रोयटर्सले लेखेको छ।

राफेल लडाकु विमान भारतीय सेनाको आधुनिकीकरण गर्ने योजना अन्तर्गत भारतले किनेको हो। भारतीय वायुसेनासँग ३६ वटा राफेल लडाकु विमान रहेका छन्।

यसअघि भारतले बुधबार बिहान पाकिस्तानमाथि आक्रमण गरेको थियो। भारतले गरेको मिसाइल आक्रमणमा परेर ८ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ।

भारतको रक्षा मन्त्रालयले भारतमाथि आक्रमण गर्न आतंकवादीहरूले प्रयोग गरिरहेका ९ विभिन्न स्थानहरूमा आफ्नो आक्रमण सीमित रहेको बताएको छ। गत महिना भारतको कश्मीरमा आतंकवादीहरूले गरेको हमलामा २६ जनाको मृत्यु भएको थियो, जसमा एक नेपाली पनि परेका थिए।

भारतले यसको प्रतिशोध लिने चेतावनी दिँदै आएको थियो। बुधबार पाकिस्तानका विभिन्न स्थानहरुमा भएको आक्रमण त्यसैको प्रतिक्रिया हो भन्ने अनुमान गरिएको छ। पाकिस्तानले भारतीय आक्रमणको जवाफ दिने पनि बताएको छ।

भारतले पाकिस्तानमा गरेको आक्रमणमा सयभन्दा बढी आतंककारी मारिएको दाबी

भारतले मंगलबार मध्यराति पाकिस्तानी क्षेत्रमा गरेको हवाई हमलामा १०० जनाभन्दा बढी आतंककारी मारिएको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन्।

भारतीय पत्रिका दैनिक भास्करले अहिलेसम्म प्राप्त जानकारीअनुसार आक्रमणमा १०० भन्दा बढी आतंककारी मारिएको दाबी गरेको हो। भारतीय वायुसेनाले मंगलबार मध्यरातपछि पाकिस्तान र पीओके अर्थात् पाकिस्तान प्रशासित कश्मीरभित्र हवाई आक्रमण गरेको हो।

आक्रमणमा ७ सहरका आतंकवादी लुकेका ९ ठाउँलाई निशाना बनाइएको दाबी भारतले गरेको छ। तर पाकिस्तानले भने आतंककारीविरुद्धका नाममा भारतले सर्वसाधारण नागरिकमाथि आक्रमण गरेको दाबी गरेको छ।

भारतले अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा आतंककारीले गोली हानेर २६ जनाको हत्या गरेको १५ दिनपछि बदलास्वरूपमा पाकिस्तानमा हमला गरेको हो।

यसलाई भारतले ‘अपरेसन सिन्दुर’ नाम दिएको छ। पाकिस्तानको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) का निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको बताएका छन्।

समाचार एजेन्सी एएनआईले स्रोतहरूलाई उद्धृत गर्दै उक्त अपरेसन प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर निगरानी गरेको उल्लेख गरेको छ। यो तनावपूर्ण अवस्थालाई ध्यान दिँदै भारत र पाकिस्तान दुवैले प्रभावित क्षेत्रका स्कुल तथा कलेज बन्द गराएका छन् भने भारतीय एयरलाइन्सहरूले उडान रद्द गरेका छन्।

यसैबीच अमेरिकाले भारत र पाकिस्तानको तनावपूर्ण अवस्थामा आफूले नजर राखिरहेको बताएको छ।

प्रकाशित : 7 May, 2025

प्रतिक्रिया दिनुहोस्