आर्थिक सुधारलाई हामी उच्च महत्त्व दिनेछौं: अर्थमन्त्री पौडेल

काठमाडौं । वैशाख ३०, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई उच्च महत्त्व दिने बताएका छन् ।
‘केही समयदेखि आर्थिक सुधार थालेका छौं । त्यसबाट सकारात्मक नतिजा पाइरहेका छौं । आउने दिनमा आर्थिक सुधारलाई हामी उच्च महत्त्व दिनेछौं,’ आगामी बजेटबारे विकास साझेदारहरूसँगको छलफलमा अर्थमन्त्री पौडेलले भने, ‘अध्यादेशबाट गरिएका कानुन संशोधन, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझाव, विभिन्न नीति तथा निर्णय र नीतिगत सुधारका महत्त्वपूर्ण पक्ष हुन् ।’
अर्थमन्त्री पौडेलले विकास साझेदाहरूलाई आगामी बजेट विशेषगरी निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र राष्ट्रिय अर्थतन्त्र सबल बनाउनेतर्फ केन्द्रित हुने जानकारी गराए ।
स्रोत सुनिश्चितताका हिसाबले सुविधाजनक अवस्था नरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बजेट निर्माण गर्दा मितव्ययिता, खर्च कटौती र सीमित साधन स्रोतलाई अत्यधिक प्रतिफल हुने गरी विनियोजन गर्नेमा ध्यान दिने बताए ।
‘वैदेशिक सहायतालाई नेपालको आवश्यकता र प्राथमिकतामा केन्द्रित गर्ने, त्यसको सही र प्रभावकारी सदुपयोग गर्नेमा हाम्रो ध्यान केन्द्रित हुनेछ,’ अर्थमन्त्री पौडेलले भने, ‘पूँजीगत खर्च र त्यसमा देखिएका समस्या समाधानका लागि पनि ध्यान दिएका छौं ।’
संसद्मा प्रस्तुत गरेपछि आगामी बजेटलाई सबैले यथार्थपरक भनेर मूल्यांकन गर्ने विश्वास व्यक्त गर्दै अर्थमन्त्री पौडेलले नेपालको विकासमा मित्र राष्ट्रहरू र विकास साझेदारहरूको निरन्तर सहयोगको अपेक्षा गरे ।